महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)

लक्ष्मी प्रसाद देवकोटा

तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।

लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।

देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।

देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।

देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।

देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।

देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।

पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।

देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।

सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।

देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।

देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।

देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग ते’boutर नै पैसा लिन्थ्यो ।

देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।

राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।

देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।

देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’

लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।

देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।

देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जाने’bout घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।

देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।

देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।

देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

10 Responses

  1. he vagawan ma prarthana gar6u ki feri laxmi prasad debkotalai you nepalma naya roopma pathaideu uha jasto desvaktiko sakht jarurat 6 yo deshma

  2. Heartly thankfull for helping me for my Nepali project

  3. Pahile school ma bhanda ali khulayara rahechha devkota ji ko bare ramro lagyo.

  4. Great website you have here but I was curious about if you knew of any user
    discussion forums that cover the same topics discussed here?
    I’d really like to be a part of group where I can get responses from other knowledgeable individuals that share the same interest. If you have any suggestions, please let me know. Kudos!

  5. Getting approved for a tax debt relief. – Find a car not just what you want.

    If you take out a contract, agreeing to a bad loan.

टिप्पणी छोड्नुहोस्