आज पुन प्रधानमन्त्रीको उम्मेदवारी दर्ता सुरु

काठमाडौं, प्रधानमन्त्री निर्वाचनमा एकीकृत नेकपा माओवादी बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल र नेकपा एमाले का अध्यक्ष झलनाथ खनाल उम्मेदवार हुने भएका छन्।

यी तीनै नेता यसअघिको निर्वाचनमा पनि उम्मेदवार थिए तर कोही पनि निर्वाचित हुन नसकेर उम्मेदवारी फिर्ता गरेका थिए।
बहुमतीय प्रक्रियाभित्र सहमति कायम गर्न नसकेपछि तीनै दल मैदानमा उत्रेका हुन्। मधेसवादी दलहरुले अझैसम्म पनि आफ्ना तर्फबाट उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा निर्णय गरिसकेका छैनन्।

पार्टीभित्र अन्तद्र्वन्द्व भए पनि माओवादी र एमालेले आधिकारिक रुपमा नै प्रचण्ड र खनालको उम्मेदवारी तय गरेका हुन् तर नेपाली कांग्रेसमा नेता पौडेललाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णयमा वरिष्ठ नेता शेरबहादुर देउवाको पक्ष भने असन्तुष्ट रहेको छ। देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएर मात्रै उम्मेदवार तय गर्नुपर्ने माग गरे पनि सभापति सुशील कोइरालाले मंगलबार साँझ केन्द्रीय समितिको अनौपचारिक बैठक बोलाएर पुरानो निर्णयलाई यथावत् राख्दै नेता पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गराउनुभएको छ। बैठकमा नेता देउवा भने अनुपस्थित रहनुभएको थियो र उहाँका पक्षका नेताहरुले केन्द्रीय समितिको औपचारिक बैठक माग गरेका भए पनि संस्थापन पक्षले संसदीय दलको विधानअनुरुप संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अडान लिएको थियो। संस्थापन पक्षले अडान नछोडेपछि देउवा पक्ष पछि सर्ने भएको छ। देउवानिवासमा मंगलबार भएको देउवा पक्षधर केन्द्रीय सदस्य र सभासद्को बैठकले उम्मेदवार परिवर्तनका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन यथासम्भव प्रयास गर्ने निर्णय गरेको थियो। तर निर्णय परिणाममुखी हुन सकेन।

माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावक उपाध्यक्ष डा. बाबुराम भट्टराई बन्ने सम्भावना छ। माओवादीबाट उपाध्यक्ष भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने चर्चा लामो समयदेखि चले पनि अन्ततः अध्यक्ष प्रचण्डले आफ्नै पक्षमा निर्णय गराउनुभएको हो।

सहमतिको सरकार आवश्यक भएको भन्दै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको बहुमतीय सरकारलाई राजीनामा गर्न बाध्य बनाउनुभएका एमाले अध्यक्ष खनाल अहिले भने बहुमतीय सरकारका लागि आफैं उम्मेदवार बन्नुभएको छ। आफ्नो नेतृत्वको बहुमतीय सरकारलाई असफल बनाउन लाग्ने अध्यक्ष खनालको प्रस्तावक प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाल बन्ने सम्भावना छ।

एमाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव नेता केपी शर्मा ओलीले गर्नुभएको थियो भने प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता नेपालले समर्थन गर्नुभएको थियो। एमालेले सरकार निर्माणका लागि राष्ट्रिय सहमति जुटाउन अधिकतम प्रयत्न गर्ने र राष्ट्रिय सहमति हुन नसके बहुमतीय प्रक्रियाबाट अघि बढेर भए पनि प्रधानमन्त्री निर्वाचित गरी वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्दै शान्ति र संविधान निर्माणको प्रकि्रयालाई सफलतामा पुर्याउने निर्णय गरेको छ।

प्रमुख तीन दलबीच सहमति निर्माण हुन नसकेको अवस्थामा मधेसवादी दलहरुले पनि उम्मेदवारी दिने कि भन्ने विषयमा छलफल शुरु गरेका छन्। तर मधेसवादी दलबीच एकले अर्कालाई स्वीकार गर्न सक्ने अवस्था नभएकाले अझै निष्कर्षमा पुग्न सकेका छैनन्।

मधेसी जनाधिकार फोरम
लोकतान्त्रिक मधेसी जनाधिकार फोरम तराई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको मंगलबार बैठक बसे पनि निष्कर्षमा भने पुग्न सकेन।

हामीले अझै पनि छलफल कायम राख्ने निर्णय गर्यौं र सहमति हुन नसकेमा मधेसका मुद्दालाई सम्बोधन गर्ने उम्मेदवारलाई मत दिने सहमति गरेका छौं -मंगलबारको बैठकपछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष विजय गच्छदारले भन्नुभयो।

अघिल्लो निर्वाचनमा पनि मधेसी मोर्चा सकि्रय भएकोमा बीचमा नै विभाजित भएर फरक-फरक धारमा पुगेको थियो।
कुनै दल वा सभासद्हरुले यस पटकको प्रधानमन्त्री निर्वाचनलाई बहिस्कार गरेर वा अनुपस्थित रहेर परिणामविहीन बनाइदिन्छन् कि भन्ने आशंका उत्पन्न भइरहेको बेला सभामुख सुवासचन्द्र नेम्वाङले भने बहिस्कार गर्न वा अनुपस्थित हुन नियमले नदिने स्पष्ट पार्नुभएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले समेत यस पटक पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्ने बताएकोले अहिले पनि निर्वाचन परिणामविहीन बन्छ कि भनी नेपाल समाचारपत्रले सोधेको प्रश्नमा सभामुख नेम्वाङले यस पटक प्रधानमन्त्री निर्वाचित हुने अपेक्षा व्यक्त गर्नुभयो।

सभामुख नेम्वाङले निर्वाचन बहिस्कार गर्न नियमले नदिने र टार्नै नसकिने अवस्था वा दुर्घटनामा परेमा बाहेक प्रधानमन्त्रीजस्तो पदमा निर्वाचनमा अनुपस्थित हुने जस्ता कार्य हुनै नसक्ने भन्दै कसैले त्यसो गरेमा संसद्को नियमविपरीत र जनताको भावनाविपरीत हुने बताउनुभयो। संसद्मा रहेका कुनै पनि दल वा सभासद्ले यस्तो कार्य गर्नुहोला भन्ने कुरामा मलाई विश्वास छैन -नेम्वाङले भन्नुभयो।

सभार: नेपाल समाचार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: