अलमलमा लडाकु

कान्तिपुर

शक्तिखोर (चितवन)- शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका लडाकुहरूले जति संख्यामा समायोजन गरिँदैछ, त्यसको बेग्लै बल स्थापना गर्नुपर्ने बताए । त्यसो नभए राज्य नियन्त्रित संगठन तयार गर्नुपर्ने सुझाए ।

दोस्रो मोडल भनेको हालको सशस्त्र प्रहरी संगठनजस्तै हुन सक्ने कमान्डरहरूको धारणा छ । नेपाली सेनासरह बनाउने हो भने नाम परिवर्तन गरेर ‘नेपाली राष्ट्रिय सेना’ नामकरण गर्नुपर्ने धारणा उनीहरू राख्छन् ।

‘समायोजनका नाममा नेपाली सेनामा मिसाउने निर्णय कदापि मान्य छैन,’ तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्केले कान्तिपुरसँग भने, ‘मिसाउँदा आत्मसमर्पण गरेको ठहरिने छ र जनमुक्ति सेनाको पहिचान नामेट हुनेछ ।’

गणतन्त्र ल्याउन र शान्ति कायम गर्न लडाकुहरूको महत्त्वपूर्ण योगदान रहेकाले पहिचान नमेटिने गरी समायोजन गर्नुपर्ने उनले बताए ।

‘हामी हारेर वा जितेर शान्ति प्रक्रियामा आएका होइनौं, दुवै पक्षको सम्झौताबमोजिम शिविरमा बसेका हौं,’ उनी भन्छन्, ‘विस्तृत शान्ति सम्झौता र दलहरूसँग भएका धेरै पटकका सहमतिबमोजिम लडाकुको आफ्नै पहिचान कायम हुनु जरुरी छ ।’

समायोजनको दोस्रो विकल्प भनेको नेपाली सेनामा गाभ्न सकिने तर नाम परिवर्तन हुनुपर्ने (नेपाली राष्ट्रिय सेना) लडाकुहरूको तर्क छ । यो काम प्रक्रियासँगै नेपाली सेनाको लोकतान्त्रीकरण आवश्यक रहेको समेत उनले बताए । पुनःस्थापनामा जानेबाहेक धेरै संख्यामा समायोजनमा जाने लडाकुहरू भएकाले सन्तुलित ढंगबाट समायोजन गर्न र नेपाली सेनाको समेत परम्परागत कार्यमा फेरबदल हुन जरुरी भएको डिभिजन सहकमान्डर उदयबहादुर चलाउनेले बताए । तेस्रो डिभिजन शिविरमा युद्धका घाइते, अपांग, हाल सुत्केरी, उमेर बढी भएका लडाकु करिब ३ सयमा रहेको स्रोतले जनाएको छ । उनीहरू सबै शिविरमा बसेर लडाकुलाई दिँदै आएको सरकारी तलब लिइरहेका छन् । ‘युद्धक्रममा घाइते भएकालाई भविष्य सुनिश्चित हुने गरी पुनःस्थापना गर्नुपर्छ,’ बि्रगेड सहकमान्डर खिमबहादुर बुढाथोकीले भने, ‘शान्ति प्रक्रियामा सपांग, अपांग सबैको योगदान बराबर छ ।’ जनताको मुक्तिकै लागि अपांग भएकाले उनीहरूको योगदान अमूल्य रहेको उनले बताए ।

‘सबै सुरक्षा अंगमै जानुपर्छ भन्ने छैन’
धनगढी – लडाकुले सेना समायोजनको स्पष्ट खाका ल्याउन सरकारसँग माग गरेका छन् । सातौं डिभिजन कमान्डर जीवन बुढाले भने, ‘राजनीतिक दलमा सहमति गरी सरकारले खाका ल्याउनुपर्‍यो ।’

माओवादी सेना कहिल्यै पनि व्यक्तिगत आकांक्षा र स्वार्थमा नरहेको उल्लेख गर्दै बुढाले भने, ‘जनताको संविधान र शान्तिका लागि सबै लडाकु सेना वा सुरक्षा अंगमै समायोजन हुनुपर्छ भन्ने अडान लिएर मात्रै बसेका छैनौं ।’ प्याकेज लिएर सरकार शिविरमै आएपछि मात्र संख्या तय हुने उनले बताए । बटालियन कमान्डर टंक तिमल्सेनाले धेरै लडाकु पुनः राजनीतिमा र्फकन पनि सक्ने बताए । भने, ‘यो संख्या पहिल्यै भन्न नसकिने भए पनि ३० देखि ४० प्रतिशत हाराहारीमा पुग्न सक्छ ।’

‘सेनामै लैजानुपर्छ’
विराटनगर (कास)- इलामको चुलाचुलीस्थित पहिलो डिभिजन शिविरअन्तर्गत मोरङको टाँडीस्थित सहायक शिविरका बि्रगेड कमान्डर कमानसिंह मोक्तानले लडाकु तालिमप्राप्त फोर्स भएकाले सबैलाई सेनामा समायोजन गर्नुपर्ने बताए ।

‘शारीरिक समस्या भएका, उमेरको हदको आधार तथा घाइतेबाहेक सबैलाई सेनामा समायोजन गर्नुपर्छ,’ उनले भने, ‘तालिमप्राप्त फोर्स बेरोजगार भए शान्ति सुव्यवस्थामै असर पर्ने अवस्था आउन सक्छ ।’

याङसिलास्थित सहायक शिविरका बि्रगेड कमान्डर गणेश प्रधानले लडाकुलाई दलहरूले देशी/विदेशी शक्तिसँग बार्गेनिङ गर्ने हतियारका रूपमा लिँदै आएको भन्दै विशेष समितिमा आएपछि यस्तो प्रवृत्ति बन्द हुने आशा लागेको बताए ।

सम्मानपूर्वक समायोजन हुनुपर्ने माग
सुर्खेत संवाददाताअनुसार दशरथपुरस्थित माओवादी छैटौं डिभिजनका बि्रगेड कमान्डर नरबहादुर पुनले सम्मानपूर्वक समायोजन हुनुपर्ने बताए । ‘शक्तिखोरस्थित माओवादी लडाकु शिविरमा औपचारिक कार्यक्रम गरी विशेष समितिमा ल्याइएको घोषणा जुन राजनीतिक सहमतिमा गरियो, त्यसैगरी समायोजन पनि होस् भन्ने हाम्रो चाहना हो,’ बि्रगेड कमान्डर पुनले भने । डिभिजनअन्तर्गत पिली स्मृति बि्रगेड, लेखफर्साको घोराही-सतबरीय स्मृति बि्रगेड, कल्यानस्थित जित स्मृति बि्रगेड र डिभिजनअन्तर्गत पूर्ण झरना स्मृति बि्रगेडमा गरी ३ हजार ९२ जना माओवादी लडाकु रहेका छन् ।

‘आशा बढेको छ’
रोल्पा संवाददाताका अनुसार दहवनस्थित जनमुक्ति सेनाको पाँचौं डिभिजनका लडाकुहरूले समायोजन प्रक्रिया चाँडै किनारा लाग्न सक्ने आशा गरेका छन् । ‘अब भने केही हुन्छ कि भन्ने लागेको छ, हाम्रो विश्वास बढेको छ,’ डिभिजनमा रहेका एक लडाकुले भने । लामो समयसम्म सेना समायोजन हुन नसक्दा अन्योलपूर्ण अवस्थामा रहनु परेको उनको भनाइ छ । रोल्पाको दहवनमा प्रमाणीकरण भएका २ हजार ४ सय ३० लडाकु छन् । यस डिभिजनबाट ४ सय ५० अयोग्य ठहरिएका थिए । गतवर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेतको उपस्थितिमा माघ २५ गते २ सय ६८ लाई भने बिदाइ गरिएको थियो । २ सय ९६ जनाले भने पहिले नै शिविर छाडेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: