मगर माघेसङ्क्रान्ति

लेखक स्मिता मगर

भूगोलसँगै जातीय र सांस्कृतिक विविधता रहेको मुलुकमा एउटै पर्व भिन्न भेग र समुदायमा कसरी मनाइन्छ भन्ने उदाहरण माघे संक्रान्तिबाट लिन सकिन्छ । यो पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र यही अवसरलाई नयाँ वर्ष मान्ने गर्छन् । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । एउटा चाडको ‘स्थानीय स्वाद’ बुझ्न पनि रुकुमको झुम्लाबाङमा रहेका मगर समुदायले मनाउने माघे संक्रान्तिको विशेषता पहिल्याए पुग्छ ।
झन्डै २०/२५ हजार मगर जनसंख्या भएको तकसेरा-महत भेगमा पर्ने मगर बहुलता रहेको झुम्लाबाङमा पाँच सय बढी जनसंख्या रहेको छ । जहाँ माघे संक्रान्तिलाई तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाइन्छ ।

दशैं-तिहार सुरु हुनुअघि काठमाडौं उपत्यकामा चङ्गा उडेझैं पुस लागेदेखि गाउँका बालकहरू गहुँ-जौं बाली नै मासिनेगरी बारीमा धनुकाँड खेल्दै माघे संक्रान्तिको रौनकता सुरु गर्छन् । वन-तरुलबिना दिदीबहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइभाइ जंगलतिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खरखन्ड तथा घर-तरुल खनेर तयारी गर्छन् । अबेर वन-तरुल लिएर फर्केका दाइहरू रातभर तरुल पकाउनेदेखि पुरी बनाउने र मिष्ठान्न भोजन पकाउनमा व्यस्त हुन्छन् ।

पर्वतमा कालीगण्डकीमा स्नान गर्न तयारी गर्दै श्रद्धालु । तस्विरः विमल


माघे संक्रान्तिको दिन बिहानै दाजुभाइले नुहाएर खाली पेटमा कुल-कुलान र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन् । पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाइ आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ । त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ-ठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घर-घरमा पुग्छन् ।

दोस्रो दिन युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) समूह-समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन् । निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५/६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन् । गाउँमा धान नहुने भएर पनि होला, चामलको भात ‘चिज’ हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन् । कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ‘माघ खान’ गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन् ।

दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन् । यसमा डोकोलाई सारी-चोलो लगाइदिएर पोते-तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन् । जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन् । मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन् ।

युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको ‘पैसारु/पैचारु’ नाच सुरु हुन्छ । यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाच्ने गरिन्छ । युवा सिकारुहरूले नाइकेलाई पछ्याउँदै पैचारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाएर उत्साहित पार्ने पनि गरिन्छ ।

माघे संक्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निसाना बनाइन्छ । पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिह्नमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ । साँझतिर स-साना केटाकेटी जम्मा भएर घर-घरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन् । उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ । यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा ‘माघे संक्रान्ति’ हर्षोल्लासपूर्वक मनाइन्छ ।

माघे संक्रान्तिमा चेलीबेटीलाई पुज्ने यस प्रथाले मगर समुदायको सांस्कृतिक र सामाजिक पहिचान बोकेको छ । चेलीबेटी र पुर्खा पुज्दै गाउँ-गाउँमा धुमधामका साथ मनाइने माघे संक्रान्ति अहिले सहरमा पनि त्यत्तिकै मनाइन्छ । देशभरबाट राजधानी छिरेका मगरहरू हरेक वर्ष खुलामञ्चमा जम्मा भएर नाचगान गर्दै रमाइलो गर्छन् । गाउँबाट काठमाडौं उपत्यका छिरेकामात्र नभई अन्तर्राष्ट्रिय स्थलमा पुगेका मगरहरूबीच पनि माघे संक्रान्तिको रौनकता त्यत्तिकै पाइन्छ ।

जुनसुकै शैलीमा होस्, सुदूर पूर्व इलामका मगर गाउँ हुन् वा राप्तीका बाक्ला बस्तीहरू, माघे संक्रान्तिमा ती उल्लासमय हुने गर्छ । फरक ठाउँमा बस्ने, भिन्न शैलीमा बाँच्ने र प्रविधिको पहुँचसम्म पुगेका मगरहरूको चेलीबेटी पुज्ने संस्कृति माघे संक्रान्तिमा देखिने गर्छ । त्यसैले पनि माघे संक्रान्ति मगरको जातीय पहिचान दिने राष्ट्रिय चाड हो, जसले गाउँदेखि सहरसम्मका मगर समुदायलाई सांस्कृतिक रूपमा जोडेको छ ।

smitamgr@hotmail.com.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: