माघेसंक्रान्ति चाड

माघे सङ्क्रान्ति/मौसमी चाड/सामयिक पर्व/मकर मेला । सबै हुन् यी । माघ महिनाको प्रथ्ाम दिन माघे सङ्क्रान्ति । माघ महिनाको सुरु दिन । लुरुलुरु आइपुग्छिन् सहोदर दिदीबहिनीझैं आफ्नो जन्मस्थल माइतीघर । लाग्छ, यो एक मेला-पर्व नै हो । सहोदर दाजुभाइ-दिदीबहिनीहरू कौसी र आँगनका घामका ओँठहरूले मीठो म्वाइ चुक्क चुम्चुमाउन लाउँछन् । जीउमा तोरीको तेल, बडीलोसन, भ्यासलिन घस्छन् । घामका हतकेलाहरू हाम्रा आङभरि सुमसुमाइरहन्छन् । मानौ यो घामका म्वाइहरूका अवसर हुन् । होलान् अनि यो सङ्क्रान्ति घामका हत्केलाले जीउ सुमसुम्याउन लाउने घामको वसन्त पनि । मलाई माघे संक्रान्तिको घाम पारिलो लाग्छ । म घामलाई जीउभरि/अँगालिदिन्छु । सङ्क्रान्ति घाम ।
सङ्क्रान्ति एक क्रान्ति/क्रान्ति समय सापेक्ष क्रान्ति/एक महिनाको अन्त्य/अर्को महिनाको आगमन/आगमनको आरम्भ दिन/एक महिनाको ढोका बन्द/अर्कोको खुल्ला प्रवेश । मानौ पुसले पूर्णता पाउँछ, माघलाई पालो कस्न । उसको पालो पुग्छ, यसको पालो आउँछ । एक क्रमको समय पूरा हुन्छ, अवधि अर्कोको थालनी । माघे परम्परा हो । परम्परा अनि क्रमबद्ध चलन, निरन्तरता । क्या मीठो मज्जा लुकेकोरैछ अनुपम शिक्षादीक्षा । लुकेछिपेका यस्ता मीठा स्वादिला स्वाद चहार्नु मेरो शिक्षादीक्षा । माघे सङ्क्रान्ति मेची-महाकाली मेला । नदी किनार, दह र कुण्डका मेला । स्नानागारहरूमा हाम्रै स्वजनहरूका भेला । सङ्क्रान्ति अवाक अभिव्यक्ति चुपचाप बोल्छ, “क्रमबद्धतासित परम्परा चल्छ । परम्परासित प्रेम, भ्रातृत्व, विश्वास अनि मेलमिलाप !”

माघे सङ्क्रान्ति प्रेम, भ्रातृत्व, विश्वास अनि मिलन विन्दुको चाड । सायद, पत्याउनुहुन्न होला । चेलीबेटी माइतीघर आउँछन् प्रेमपूर्वक । दाजुभाइ-दिदीबहिनी आपसमा अँगाल्छन् । क्या मीठो न्यानो अँगालो ! अँगालोभित्रका भ्रातृत्व । भ्रातृत्वपूर्ण अँगाल्ने । मानौ अँगालोले भ्रातृत्व मजबुत पार्छ । मानो भ्रातृत्वले एक विश्वास जन्माउँछ, अँगालिन्छ दाजुभाइ-दिदीबहिनीहरू स्नेहालु वंशवृक्षका पात फरफराएर । फरफराउँदै पातहरू र्झछन्, रुख-रुखबाट जमिनमा-धरतीमा, जहाँ आफू अवशान लिएर मलिलो पार्छ माटोलाई, माटो जसमा अडेको छ आफू । म शिशिरसित यो ऋतुका महिमा ऋचा गान गाउन सिकिरहेछु । लाग्छ, सिक्नु एक निरन्तर क्रिया रहेछ, जस्तो भोजन क्रिया अनवरत प्रक्रिया रहन्छ जीवनभर । माघे सङ्क्रान्ति आउँछ, जान्छ, पृथ्वीको गतिसित । हामी र हाम्रा सबै-सबै नै माघे सङ्क्रान्ति क्रान्त रहन्छ । निश्चित अवधिका गान, मान, शान हाम्रा । अनि शान पछि

अवशान । जसलाई गौतम बुद्धले भने महानिर्वाण । कत्रा-कत्रा रहस्य लुकेछिपेका रैछन्, माघे सङ्क्रान्ति चाडका स्वादभित्र ।

न्यानो घामका राप लिँदै तिलका लड्डु चपाइरहेँ । तिलका लड्डु चपाउँदो गणेश बनेँ । तिलका लड्डु माघे सङ्क्रान्ति एक परिकार- स्वादिष्ट परिकार । परिकार एकलो हुन्छ, कहिल्यै रहेन । घिउ र चाकु अर्को परिकार- अनुपातिक समिश्रण । घिउ र चाकुको मिश्रण उपचारक बुटी बन्छ । मात्रा मिलाएर सेवन गरे सघाउँछ, यसले चलाउन दीर्घायु- लामो जीवन यात्रा । मनलागी गरे सेवन भरे ! छोट्याउँछ जीवन यसले । मात्रामा मिलान दीर्घायु चलान । मात्रामा बेमिलान चिलिम च्वाँट ! क्या ! घिउ-चाकुको मात्रा मिलान पुराण ! घिउ-चाकुको मात्रिक मिलानले रसाउँछ, अङ्ग-अङ्गका छन्द । मासपिण्डका केस्रा-केस्रा रक्तमासी पुष्ट पार्न आन्तरिक क्रिया चलाउँदो छ । शरीरका हाडहरूका जोर्नी-जोर्नीहरूमा उपयुक्त अंश रस प्लावन हुँला लुबि्रकेन्ट तत्त्व मासिन नदिने उपचार मूलो- औषधी-मूलो बन्दो हो । माघे सङ्क्रान्तिसित विमर्श घिउ-चाकु स्वाद लिँदै म !

मकर सङ्क्रान्ति पृथ्वी मकर रेखा प्रवेशका आरपारका गतिशील क्रान्ति । पृथ्वीको गतिसित सूर्यका राप सिधा, टेढा, बाङ्गा पर्न थाल्छन् । पृथ्वीकै गतिले यहाँ हामीलाई राप उष्ण र शीत उष्ण प्रदान गर्दोछ । आफ्नै गतिमा मति, सहमति, कुमति बन्ने दिशा म पाइरहेछु अहा ! घिउ-चाकु सङ्क्रान्तिसित उफ्रन्दैं बुर्लुक-बुर्लुक ! पृथ्वीमा शीत-शिशिर, वसन्त-विसर्जन झर्दो पातहरूसित सिकिरहेछु । माघे सङ्क्रान्ति चाड्पर्वसित रमरम रमाउँदै म । यो क्रम चलिरन्छ, चलिनैरहन्छ नथामिकन ! निरन्तरता यसले पाइनै रहनेछ, यो सौरमण्डलमा पृथ्वी अटाएसम्म । माघे सङ्क्रान्तिमात्र यत्तिकैमा विसर्जिन्न/टुङ्गिन । यसका अनेक आयाम छन् । माघे सङ्क्रान्ति बहुआयामिक चाड ।

यो कण्दमूल सेवनका मौसमी चाड । क्या, मधुर मीठो तरुल-कण्दमूल नृवंशले गरेका पहिलो कृषि उत्खनन । माटो खन्दै उभारेको भूगर्भका खाद्य उत्पादन । तरुल हाम्रा कृषि उत्पादनमूलक प्रकृतिको वरदान । सायद नृवंशले नृतत्वशास्त्रीय उत्खनन तरुले, सखरखण्ड, पिँडालु, भ्याकुरहरूबाट सिकेथे ? कति अनौठो कथाका तन्त्रमन्त्र अन्तरनिहित छन्- माघे सङ्क्रान्तिको महिमाभरि ? म यति रमाइरहेछु, माघे सङ्क्रन्ति मनाउँदै मेरा हजुरसित रमाउँदै । मानौ जीवन एक चाड हो, पर्व हो । हो अनि जीवन स्वयम् एक महाचाड हो, पर्व हो- मनाउनसके । आओ ! सबैजना आओ ! घिउ-चाकु स्वादसित माघे सङ्क्रान्तिको उज्यालो राप जीउभरि ताप्दै मनमुटाव डढाउन आओ । म बिछ्याइदिन्छु, आफूलाई यहाँहरूको सज्जन हृदयाभरण निम्ति । यो घिउ-चाकु सङ्क्रान्तिको आगमन अवसर हो । अनि पक्कै पनि हो माघमहात्मेको पुरश्चरण मुहूर्त पनि । आओ ! ऐरे, गैरे, खैरे, कैले सबै-सबै नै आओ ! आओ ! काले पनि आओ ! आओ सबै-सबै भैलेहरू’नि आओ । सुकिसकेका झुर्रम पात, हाँगाहरू झारेर आऊ ! नभए अझै झार्न आऊ । झारिसकेछि यहाँ वसन्त आउनेछ । ऊ आफ्नै चालमा आउनेछ । ऊ आफैं आउनेछ । ऊ वसन्त हो ! ऊ वहार हो ! ऊल भविष्य हो ! सबै ऋतुका राज हो । ऋतुराज-वसन्त । तिल-चाकुका गोलगोल लड्ड उपहार गर्छु ।

तिलका लड्डु क्या मीठो ! क्या स्वादिलो । अहो जिब्रो रसायो । मुखभरि मेरो पानी-पानी ! मीठो पदार्थ देख्दैमा मुख रसाएछ हजूरको ! हैन र प्रभु ! हजुरको आयु लामो छ । दीर्घायु भव ! चिरायु भव ! तिल-चाकुको उचित अनुपातमा कन्याम-कुरुमे बन्छ, तिलचाकु लड्डु ! जसले स्वाद पाउँदैन र लिँदैन ऊ बन्छ बुड्डु । तिलका लड्डु चाख्दै नचाखी नाई…नाई गर्दा बन्न पुगेको बुड्डु बुङरुङ अनुभूति खर्लाम-खुर्लम ! हे गुरु गणेश ! सूर्यविनायक ! सुदृष्टि रहोस् । प्रभुत मेरा कुलदेवता । हे इस्तेश्वर ! पाउमुनि त छ, निष्ठा घर । कसको शरण परुँ म । भर छैन कसैको । मान्छे हराएका मान्छेमात्र भए । त्यस्ता के मान्छे ? मैजस्ता लड्ने, भिड्ने अनि सुइँकुच्चिने । कहाँ माघे सङ्क्रान्तिका तिले लड्डु महात्मे ? कहाँ भुस्कुत्ते, भुसतिघ्रे, गाँडे ? अघि मनपर्छ तिले लड्डु, मेरा इष्टदेव प्रभुलाई । हामीलाई एकतमास मनपर्छ, यो तिलका लड्डु । खाँदा जिब्रो रसाउँछ । निल्दा जीउज्यान पोषाउँछ । यी दुवै पृथ्वीकै वरदान । भूमाताका उपहार ! नृवंशका यावत जीवात्माका मिष्ट आहार ! माघे सङ्क्रान्तिका देन उपहार ! तिल-चाकुका समिश्रणबाट बनेको पौष्टिक तत्त्वका द्वन्द्वात्मक भौतिकवाद ! माघ महात्म्यका माघे सङ्क्रान्ति जिन्दावाद !

माइखोलामा आज भक्तजनहरु घुइचो
माघ १ – झापामा अबस्थित माइखोलामा आज भक्तजनहरु घुइचो लाग्छ, माघेसंक्रान्ति पर्वका अवसरमा मुलुकका विभिन्न धार्मिक स्थलहरुमा पूजा आजा गर्ने र नदीमा स्नान गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

चितवन, नवलपरासी र तनहुको पवित्र सगमस्थल देवघाटधाममा दर्शन गर्न आउने श्रदालुको बिहानै देखि घुईचो लागेको छ । हिजो एक कार्यक्रमकाबीच मेलाको औपचारीक उदघाटन भएपछि स्वदेश र विदेशका भक्तजन देवघाट पुग्ने क्रम जारी रहेको छ ।

मेला ब्यबस्थापनको लागी चितवनतर्फ र तनहुंतर्फ सुरक्षाकर्मी परिचालन गरिएका छन् । यस्तै माघेसक्रान्ती मेला भर्न जाने भक्तजनहरुलाई स्नान गर्न सहजहोस् भन्नाका लागि झोलुड्डे पुलमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर, जिल्ला प्रहरी कार्यालय चितवन र तनहुंबाट खटाईएका प्रहरीले झलुड्डे पुलको ब्यबस्थापन गरिरहेका छन । सुरक्षब्यबस्था ब्यबस्थित बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरिक्षक रबिराज खड्काको संयोजकत्वमा प्रहरी परिचालन गरेको छ ।

हिजो बिहान बेनीमा लिङ्गो गाडेपछि सुरुभएको मेलामा अबिछीन्न भजन किर्तन, होम होमाती भैरहेको छ भने हिजो साझ बिशेष साहित्यीक कार्यक्रम काब्ययामिनी भएको थियो । सोका लागी नेपालका बिभीन्न क्षेत्रबाट श्रस्टाहरु देबघाट पुगेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले ब्यवस्थित र शान्ति पूर्ण तबरले मेला भइ रहेको जनाए ।

कालीगण्डकीमा नुहानेको घुँइचो

माधब अर्याल

पाल्पा- पाल्पा, स्याङ्गजा र गुल्मीको संगम रुरु क्ष्ाेत्रमा शनिवारदेखि माघेसंक्रान्ति मेला सुरु भएको छ । मेलामा विहानैदेखि घुईचो लागेको छ । कालीगण्डकीको तट रिडी रुरुमा विहानै देखि नुहाउनेको भिड लागेको छ । भक्तजनहरु लामो लाईन लागेर पाल्पाको अर्गली गाविसमा रहेको ऋषिकेशब मन्दिरको दर्शन गरेका छन् । मेलामा साधुसन्तको पनि भिड लागेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आएका छन् ।

सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहिआएको छ । कालीनदीमा स्थान गरेर ऋषिकेशवको मुर्तिलाईदर्शन गरियो भने मनले चिताएको पुग्ने धारण छ ।

तमोर नदी किनारमा श्रद्धालुको भिड

रमेशचन्द्र अधिकारी

धनकुटा- मकर संक्रान्तिको अवसरमा धनकुटाको प्रसिद्ध धार्मिक स्थल तमोर नदी किनारको मुलघाटमा मकर नुहाउने सर्वसाधारणको आज सबेरैदेखि खचाखच भिड लागेको छ ।

त्यहां नुहाउंदा मनोकांक्षा पुरा हुने र रोग विकार हट्ने विश्वास लिइने गरिन्छ । प्रत्येक वर्ष उक्त स्थानमा धनकुटा, सुनसरी, पाचथर, तेह्रथुम, मोरङ् लगायत जिल्लाबाट हजारौं भक्तजन जाने गर्दछन् । यसैगरी मुलघाटमा रहेको बिश्रान्तिमा पनि आज विशेष पूजा गर्ने सर्वसाधारणको उल्लेख्य भिड लागेकोे छ ।

मोदोबेणीमा भक्तजनको घुँईचो

विमल खतिवडा

पर्वत,माघ १-मांघेसंक्रान्तिको अबसरमा शनिबार पर्वतका प्रसिद्ध धार्मिकस्थलहरु सेतीबेणी र मोदीबेणी घाटमा मेला लागेको छ । सेतीखोला र कालीगण्डकी नदीको संगम तथा बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला रहेको सेतीबेणीधाममा ठूलो मेला लागेको हो । त्यस्तै मोदी र कालीगण्डकी नदीको संगममा रहेको मोदीबेणीघाटमा समेत विहानैदेखि स्नान गर्नेहरुको भिड जमेको छ । कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौ श्रद्धालुहरुको घुँईचो लागेको हो । सेतीबेणीमा पर्वत, स्याङ्गजा, गुल्मी,भैरहवा र बागलुङ्गबाट ठुलो संख्यामा भक्तजन भेला भएका छन् । यस्तै मोदीबेणीमा माघेसंक्रान्तिकै अबसर पारेर आयोजना गरिएको मेलाको तयारी पुरा भएको मोदीबेनी धाम धार्मिक पर्यटकीय बिकास संस्थाका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिए ।

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: