विछोडका गीतले मालामाल गायिका अञ्जु पन्त

विछोड, पीडा र निराशाका धेरै गीत गाएकी छिन् अञ्जु पन्तले । उनलाई रातारात चर्चित बनाउने गीत न बिर्सें तिमीलाई पनि विछोडकै गीत थियो । अहिले एउटा गीत गाउँदा बाह्र हजार, कन्सर्टमा गाउँदा ६०/७० हजार र विदेशमा गएर कार्यक्रम गर्दा दुई लाख रुपैयाँ लिन्छिन् ‘व्यस्त’ गायिका अञ्जु ।

न बिर्सें तिमीलाई न पाएँ तिमीलाई गीतबाट नेपाली संगीत बजार पिटिन् अञ्जु पन्तले । यही एउटै गीत काफी भयो अञ्जुलाई गुमनाम युवतीबाट रातारात राजधानीको ‘मस्ट ह्यापेनिङ सेलिबि्रटी’ हुन । उनको ‘सेलिब्रेटी’ जिन्दगीचाहिँ कल्पना गरिएजस्तो गुलावी नहुन सक्छ । धेरै मान्छेले चिन्छन्, हालैको एउटा अन्तर्वार्तामा अञ्जुले भनिन्, गाह्रो पनि छ । ख्याति र प्रचार अनुसारको आम्दानी हुँदैन । मानिसका अपेक्षाअनुसार) गायक/गायिकाले आफूलाई मेन्टेन गर्न निकै गाह्रो छ ।

प्रशंसकहरूमा सेलिब्रेटीको कमाइलाई विदेशीसँग तुलना गर्ने सोच छ, उनले भनिन्, टिभीमा मात्रै देख्दा उनीहरूले के-के न होला त्यो गायिका भन्ने ठानेका हुन्छन् अनि भेट्दाचाहिँ त्यस्तो हुँदैन किनकि म पनि त सामान्य मान्छेको सामान्य जिन्दगीबाट माथि उठ्दै त छु ।

नेपाली सांगीतिक संसारमा बजार र मिडियाको अभुतपूर्व संयोजनबाट प्रत्येक महिना अञ्जुजस्ता रातारात सेलिब्रेटीको जन्म भइरहेको छ । यो समीकरण गज्जबको छ- बजारमा क्यासेट सिडी पठाएकै क्षण टिभीमा म्युजिक भिडियो सार्वजनिक गरिन्छन् । गायक/गायिका एफएम रेडियोहरूमा उपस्थित हुन्छन् अन्तर्वार्ताका लागि । पत्रपत्रिकामा फोटो छापिन्छन् र वेबसाइटहरूमा ‘वालपेपर’ आकारका फोटोसँगै अन्तर्वार्ता निस्कन्छन् । बजारीकरणको यो प्याकेजले उपभोक्ता एकैपटक यस्तरी घेरिन्छ कि ऊ त्यो गीत सुन्न, हेर्न र किन्न बाध्य हुन्छ । पहिले-पहिले गीत श्रोतासम्म पुग्न कि रेडियोमा बज्नुपर्थ्यो कि त कुनै कार्यक्रम नै आयोजना गरिनुपर्थ्यो अञ्जु भन्छिन्, ‘आज गायक, श्रोता र दर्शकमाझ भिडियोमा प्रस्तुत हुन्छ, टिभीमा देखिन्छ । धेरै मानिसले एकैपटक चिन्छन् र उसका ’boutमा चर्चा हुन थाल्छ । त्यो ‘चर्चा’ गीत हिट भएको लक्षण हो, जब बच्चा, युवा, बूढा सबैले चियापसलमा समेत कुरा गर्न थाल्छन् । अञ्जुको भनाइ छ, बजारमा उसको एल्बमको बिक्री राम्रो हुन्छ र गायक मिडियामा छाउन थाल्छ भने उसलाई सफल भएको मान्नुपर्छ ।

अहिले अवस्था यस्तो छ- गीतमा स्तर भनेको त्यस्तै हो, बजारचाहिँ पिट्नैपर्छ । स्तरीयताको नाममा शब्द, संगीत, स्वरमा मात्रै ध्यान दिएर के गर्नु ? उनीहरूको विचार छ- बजारमा चलेन भने त्यो स्तरीयताको के काम ? कुशल होइन, तन्नेरी गायकहरूको सोचाइ छ- सफल गायक हुनु अहिलेको आवश्यकता हो । गायक/गायिकाले बजार पनि बुझ्नुपर्छ, अञ्जु भन्छिन्, वर्तमान अवस्थामा कस्तो गीत चल्छ भन्ने थाहा पाउने नै हिट बन्छ । सांगीतिक सौन्दर्य होइन बजारको मागअनुसार गीत गाएमा हिट होइने कुरा अञ्जुले पनि बुझेकी छिन् । तर गीतमा स्तर त चाहिन्छ नै, अञ्जु भन्छिन् । अञ्जुका गीतमा त सांगीतिक सैन्दर्य पनि भेटिन्छ नै । नभए अञ्जुको सांगीतिक उचाइ कसरी चुलिन्थ्यो ? अञ्जुलाई लाग्दो रहेछ- नेपालमा धेरै राम्रा गायक/गायिका छन्, जो आफ्नो सन्तुष्टिका लागि गाउँछन् । वास्तवमै सफल हुनलाई बजारको सन्तुष्टिका लागि पो गाउनुपर्ने रहेछ । कलामात्र भएर भएन, उनी भन्छिन्, बजारको मागलाई पनि पहिचान गर्नुपर्छ ।

नारायण गोपालका गीतहरू यसकारण स्तरीय थिए कि उनी गहिरा भावना मिसिएका गीत गाउँथे । अञ्जुचाहिँ आफूले गाउने गीतको छनोट कसरी गर्छिन् ? स्तरीय गीत गाउन त मलाई पनि मन लाग्छ । तर त्यो रहर पूरा भएको छैन, उनले भनिन्, तर म कसैलाई पनि भेद गर्दिनँ, गाउन पाए पुग्यो । जुनसुकैखाले गीतमा पनि उनी पूरै डुब्न सक्छिन् । रिमिक्स, पप, भजन, चलचित्र सबैखाले गीतमा उनी राम्रै जमेकी छिन् ।

भर्खरै अञ्जु दुईमहिने टुरमा अमेरिका गइन् । फर्केर आएर फेरि इजरायल गइन् र फेरि कतार । गीत गाएर फुर्सदै छैन, अञ्जु भन्छिन्, देश-विदेशबाट निम्तो आइरहेको हुन्छ कार्यक्रमको । यी गायिका यति व्यस्त हुन्छिन् कि कसैलाई भेट्ने वा कतै गएर सुस्ताउने उनलाई फुर्सद छैन । दिनको औसत तीनवटा गीत रेकर्ड गराउने गरेकी छु, उनी कति व्यस्त छिन्, यही भनाइले पुष्टि हुन्छ ।

आँखामा गाजल लगाएकी, ओठमा लाली लगाएकी, नीलो जिन्समा सजिएकी यी ‘दुब्ली’ गायिकाका फ्यान बच्चादेखि वृद्धवृद्धासम्म छन् । साना बच्चादेखि बूढासम्मको ‘आई लभ यु’ लेखिएका एसएमएस आउँछन्, यी नत्थीवाली गायिका आफ्नो उमेरभन्दा साहै्र कम लाग्छिन् । अझ उनलाई ‘बिहे गर्छु’ भन्ने केटाहरू पनि गनिनसक्नु छन् रे । धेरैले त फोन गरेर दिक्क लाउँछन्, उनले भनिन्, बुटवलका एकजना फ्यानले मेरा’boutमा कविता लेखेका रहेछन्, केही समयअघि फोनमा सुनाएका थिए ।

संसारमा सबैभन्दा बढी माया नौ वर्षिया छोरी ‘परितोषिका’ र आमा मनु योञ्जनको लाग्ने बताउने अञ्जुलाई धेरैले ‘मेलोडी क्विन’ पनि भन्छन् । १३ वर्षदेखि सांगीतिक बजारमा उनको यात्रा अविरल छ । रेडियो नेपालमा आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि उनी झ्याम्मै हामफालिन्, सांगीतिक संसारमा । उनको प्रेमविवाह भयो, गायक/संगीतकार मनोजराजसित -जो अहिले अमेरिकामा छन्)। हरेकपटकको अन्तर्वार्तामा उनी श्रीमान्ले आफूलाई निकै माया गर्ने गरेको र आफ्नो सांगीतिक यात्रामा श्रीमान्को योगदान निकै भएको सुनाउँछिन् ।

०६० सालमा पति मनोजसँग उनको ‘गाथा’ एल्बम बजारमा आयो । ‘संयोग’ एल्बममा अञ्जुले भारतका चर्चित गजल गायक जगजित सिंहसँग पनि गीत गाइन् ‘कस्तो माया देखेँ आज टप्प टिपुँजस्तो’। तर यो गीत छुट्टाछुट्टै रेकर्ड गरिएको थियो । जगजित सिंहसँग फोनमा चाहिँ कुरा भएको थियो, उहाँले ‘निकै राम्रो गाउने रहिछौ’ भनेर आशीर्वाद दिनुभयो, उनले भनिन् । अञ्जुले यति छिट्टै समयमा तीनसय बढी नेपाली फिल्ममा गीत गाइसकेकी छिन् । ०६३ मा अञ्जुको रिमेक गीतिएल्बम ‘कम्पन’ आयो । तर अचम्म, अञ्जुको सोलो एल्बम एउटा पनि छैन । उनी पाश्र्वगायिका र ‘स्टेज पर्फर्मर’ हुन् ।

अञ्जु अहिलेकी सबैभन्दा महँगी गायिका हुन् भन्ने चर्चा व्यापक छ । अरूको एल्बममा एउटा गीत गाएर कति पाइन्छ ? त्यही हो १२ हजार रुपैयाँ लिन्छु, त्योभन्दा धेरै वा थोरै लिन्न, अञ्जुले भनिन् । काठमाण्डौ बाहिरको कार्यक्रममा गाएको एकपटकको ६०-७० हजारसम्म लिन्छिन् रे । अनि विदेशमा गाएको नि ? दुई लाखसम्म लिन्छु, उनले भनिन् । अस्ट्रेलिया, जापान, जर्मनी, बेलायतबाट यस वर्षका लागि कार्यक्रमको अफर आएको बताइन् अञ्जुले । उनको यो गीत पनि अहिले निकै चलेको छ:

जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन
फक्रिने र ओइलाउनेको टुङ्गो हुँदैन

उनको स्वर वियोगान्तमा बढी खुल्छ । आजकाल चलेकै यही वियोगान्त गीत हो, अञ्जु पन्तको लालीओठ फक्रिए, मान्छे सबैमा निराशा छ र दुःख छ, धेरैलाई यस्तै वियोगान्त गीतले छुँदो रहेछ, त्यसैले यस्तै गाएकी मैले पनि । अञ्जुले दुई वर्षअघि छिन्नलता नवप्रतिभा पुरस्कार, कान्तिपुर टेलिभिजन र एफएमबाट अवार्ड पाएकी थिइन् । अन्नपूर्ण एफएम, हिट्स एफएम आदिबाट उनले दर्जनौँ पुरस्कार पाएकी छिन् ।

अञ्जु जस्तै पहिले बजार पिटेर पछि गायब हुने गायक/गायिका पनि नेपालमा नभएका होइनन् । गीतले दिलाएको स्टारडममा रमाइरहेकी छिन् अञ्जु । आफ्नो क्षमताको वास्तविक परीक्षण ‘श्रोताले’ गरिसकेको ठान्छिन् उनी । भन्छिन्, श्रोताको मायाबाट मिल्ने आनन्दको स्वाद कम्ती मीठो हुँदैन । यसले मेरो जीवनमा रमाइलो र उमंग थपिरहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: