पर्साका गाउँमा हतियार कारखाना

पर्साको एक पश्चिमी गाउँमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको २०० मिटर पर एक बँगैचामा हतियार बनाउँदै गरेका मिस्त्री ।

सदरमुकाम वीरगञ्जबाट करिब ३५ किलोमिटर पश्चिममा पर्ने सीमावर्ती गाउँमा दुईजना कालिगढ हथौडा र आरन चलाउन व्यस्त छन्। उनीहरू फलामका भाँडाकुँडा बनाउँदै छैनन्, नलकटुवा पेस्तोलको आकारलाई पूर्णता दिँदैछन्। दलालसँगै हतियार किन्ने ग्राहकका रूपमा त्यहाँ पुगेको हिमाल संवाददातामाथि नजर पर्नासाथ उनीहरू आत्तिंदै गलबन्दीले अनुहार छोप्नतिर लागे। माल किन्न आएको थाहा भएपछि मात्रै उनीहरू सहज महसुस गर्दै काममा फर्किए। मोलमोलाइ शुरु भएपछि आफूलाई मियाँ थरका बताउने हतियारका व्यापारीले एउटा नलकटुवा पेस्तोलको रु.३ हजार पर्ने बताए। तर, मोलतोल गर्दै जाँदा रु.२५०० मा डिल भयो र १५ दिनमा दुईटा हतियार तयार गर्नेगरी रु.१००० अग्रिम भुक्तानी दिएपछि मियाँ पनि ढुक्क भए।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्पभन्दा जम्माजम्मी दुईसय मिटर टाढा र नेपाल-भारत सीमाबाट एक किलोमिटर दूरीमा रहेको यो गाउँमा नलकटुवालगायतका हतियार उत्पादन हुन थालेको लामो समय भइसक्यो। हतियारका कारोबारीहरूले युद्धकालमा मा’वादीलाई हतियार बेचेको बताउनुले नै यो ठाउँमा हतियार बनाउन थालिएको कति भयो भनेर ठम्याउन गाह्रो पर्दैन। अचम्म त के छ भने यही गाउँमा प्रहरी चौकी छ, तर जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र अहिलेसम्म यस’bout बेखबर देखिन्छ।

यस्तो धन्दामा लागेकाहरूले बताएअनुसार, अहिले सामान्य उद्योगसरह यहाँ घातक हतियार बनाउने कारखाना चलेका छन्। नलकटुवा पेस्तोलसँगै थ्रीनटथ्री राइफल, बाह्रबोर र माग भएअनुसार रिभल्बर, सिक्सर पनि तयार पारिन्छ, यो गाउँमा। हतियार बनाउन आवश्यक पर्ने कच्चापदार्थको जोहो पनि सहजै हुन्छ। स्थानीय स्तरमै र सदरमुकाम वीरगञ्जका कवाड बजारबाट कच्चापदार्थ आपूर्ति भइरहेको उल्लेख गर्दै मियाँ भन्छन्, “खानेपानीको पाइप र बस/ट्रकका स्टेयरिङबाट हामी बन्दुक बनाउँछौं।” उनको भनाइमा ट्र्रकको स्टेयरिङले बाह्रबोर र जीपको स्टेयरिङबाट थ्रीनटथ्री राइफल तयार हुन्छ।
हतियार बनाउन मिस्त्रीहरूले गाउँघरमा लोहारले प्रयोग गर्ने हथौडा, छेनी, औगर (ड्रिल गर्ने औजार), रेती आदिको सहायता लिन्छन्, आरनमा तताएर हथौडाबाट हतियारलाई निश्चित आकार दिन्छन्। एकजना मान्छेले ५ देखि १५ दिनभित्र एउटा हतियार तयार पार्छन्।

यस्तो काम बढीजसो रातको समय गरिने भए पनि यो गाउँमा दिउँसै कारखाना चलिरहेको हुन्छ। गाउँभन्दा पछाडिपट्टि रहेको बगैंचामा विशेष निगरानी मा दिउँसै काम गराउने गरेका मियाँ भन्छन्, “हतियारको बढी माग भएको समयमा दुईतीन दिनमै माल दिनुपर्ने हुन्छ, त्यसैले दिनरात नभनेर काम गरिन्छ।” एकजना मूख्य मिस्त्री र दुई जनासम्म कामदार हुने यस्ता कारखानामा मिस्त्री नै मालिक हुन्छन्, जसले व्यापारीको काम पनि गर्छन्। निर्माणको काम हुँदा सडकमा दुईतीनजना थप मानिस रेकी गरिरहेका हुन्छन्, कुनै खतराको सङ्केत भए तुरुन्त खवर गरेर सचेत पार्छन्।

निर्यात पनि!
गाँजा-अफिम खेती, लागूऔषध ‘सारपोसार र सीमापार अपराध-अपराधीको आश्रयस्थल, अनि तस्करीको नामुद अखडाको ख्याति कमाएको पर्सा जिल्लाको परिचय अब यतिमैं सीमित रहेन। जिल्लाको सीमावर्ती गाउँमा देखिएको यो हदसम्मको अवस्थाले पर्सा अवैध हातहतियार उत्पादन गर्ने थलो नै बनिसकेको देखिन्छ। हतियारको बोलवालाबाट सिङ्गो तराई-मधेश हिंसा-आतङ्कको चपेटामा परिरहँदा तिनै हतियार आपूर्ति गर्ने प्रमुख थलो बनेको छ, यो जिल्ला। लम्बिँंदै गएको सङ्क्रमणकालमा मौलाउँदो दण्डहीनता, अराजकता र राज्यको कमजोर सुरक्षा व्यवस्था यस्तो आगोमा घिउ बनेको छ।
सीमावर्ती गाउँसँगै जिल्लाका उत्तरी भेगमा समेत निर्वाध रूपले हतियार कारखाना चलाइएका छन्। हिमाललाई प्राप्त विवरण अनुसार, पर्सा जिल्लाका सबैठवा, निचुटा, सखुवनिया, आँसबारी र मिर्जापुरसमेत पाँचवटा गाविसमा अहिले यस्ता कारखाना सञ्चालनमा छन्।

गाउँगाउँमा उत्पादित हतियारको सबैभन्दा बढी खपत तराईमा हिंसा र आतङ्क मच्चाइरहेका सशस्त्र समूहहरूले गर्ने गरेकाले यो व्यापारमा लाग्नेहरू माग अत्यधिक रहेकाले काममा भ्याइनभ्याइ रहेको बताउँछन्। तिनैमध्येका एकजना भन्छन्, “विदेशी या स्वदेशी जुनसुकै हतियार भए पनि काम एउटै गर्ने भएकाले सस्तो हतियारको माग बढ्ता छ।” हिजो मा’वादीको हिंसात्मक विद्रोह हुँदा सबैभन्दा बढ्ता हतियार उत्पादन र आपूर्ति गरिएको दाबी गर्छन्, उनी।
हतियारको माग उच्च हुनुको अर्को कारण छ। पहिले सीमावर्ती बिहार राज्यका मुँगेर, जहानावाद, वेगुसराय, सीतामढीलगायतका ठाउँबाट अवैध हतियार नेपाल भित्रिन्थे। अहिले यहाँ उत्पादित हतियार उता बिक्री हुन्छ। कारोबारीहरूको दाबीलाई पत्याउने हो भने बिहारमा हालसालै सम्पन्न विधानसभा निर्वाचनका बेला उनीहरूले राम्रो कारोबार गरे। नक्सलवादीहरूको बढ्दो प्रभावसँगै बढाइएको निगरानी र बिहारमा नीतिशकुमारको सरकारले गरेको कडिकडाऊका कारण सीमापारि अवैध हतियार उत्पादनमा अप्ठ्यारो परेपछि त्यहाँबाट माग बढेको सम्वद्ध व्यक्तिहरू बताउँछन्।

पर्साका गाउँमा योविघ्न हतियार-राज देखिँदा पनि प्रहरी भने आफूलाई पूर्णतः बेखबर बताइरहेको छ। पर्सा प्रहरी प्रमुख, एसपी राजेन्द्रमान श्रेष्ठ जिल्लाभित्र कहीँकतै हतियार उत्पादन हुँदै नभएको दाबी गर्छन्। भन्छन्, “त्यस्तो छ भने सूचना दिनुस्, हामी कारबाही गर्छौ।” तर, यो धन्दा मा संलग्नहरू हाकाहाकी प्रहरीलाई कमिशन दिइरहेको बताउँछन्, जसबाट प्रहरी यस’bout जानकार छैन भनेर पत्याउँन गाह्रो छ।

गन कल्चर शुरु
विभिन्न आपराधिक र गैरकानुनी कार्यमा संलग्न व्यक्ति/समूहले मात्रै प्रयोग गर्ने यस्ता हतियार पछिल्ला दिनमा नेतादेखि आम मानिससमेतका आवश्यकता बनेका छन्। राज्यको फितलो सुरक्षा व्यवस्थालाई कारण देखाएर तराई-मधेशका गाउँमा आत्मरक्षाका लागि भन्दै हतियार राख्ने प्रवृत्ति बढ्दो छ र गाउँमै खुलेका कारखानाले हतियार आपूर्ति निकै सहज बनाइदिएका छन्।

तराईमा राजनीतिक आवरणमा हिंसारत समूहहरूले अधिकांश यस्तै होममेड हतियार प्रयोग गरिरहेको स्वयम् प्रहरीकै अभिलेखले देखाउँछ। साउन २०६५ देखि मङ्सिर २०६७ सम्म पर्सा प्रहरीले ४२ थान कटुवा र ५ थान यस्तै पेस्तोल बरामद गर्‍यो। वारा, पर्सा र रौतहटमा आर्थिक वर्ष ०६४/०६५ मा ७० जना, ०६५/०६६ मा ६५ र ०६६/०६७ मा ४९ जनामाथि चलाइएको हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्तमध्ये धेरै यस्तै हतियार प्रयोगकर्ता थिए।

नारायणी अञ्चल प्रहरी प्रमुख, एसएसपी गोपाल भण्डारी दण्डहीनता र अराजकताले गन-कल्चर मौलाउँदै गएको र हतियार नै धेरैलाई कमाऊ धन्दा बनेको स्वीकार्छन्। तर, यसको मूख्य कारण भनेकै गाउँमै भइरहेको हतियारको सहज आपूर्ति हो, जुन मूलतः प्रहरीको फितलो सुरक्षाबाट निम्तिएको हो। यहाँ भइरहेको हतियार विस्तारलाई नजिकबाट नियालेका एकजना पूर्व गाविस अध्यक्षका भनाइमा, पछिल्लो समय गाँजा-अफिम खेती र तस्करीबाट मनग्गे आम्दानी हुन थालेपछि धेरैजसो हुनेखानेहरूले स्टाटस सिम्वोल कै रूपमा कटुवा पेस्तोल राख्न थालेका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: