ह्यापी न्यु इयर!

मनोज दाहाल, हिजो राति न्यु इयर पार्टीमा झुमेर अबेर घर फर्कनुभयो होला, होइन? बाह्र बजेअघि त फर्कने कुरै भएन। नयाँ वर्षको पार्टी मनाएर पुरानै वर्षमा त के पो घर फर्कनु! एक, दुई, तीन वा चार बजे बिहानसम्म नयाँ वर्षको स्वागत गर्दै ठमेलमै रक्सीको चुस्की लगाइरहनुभयो होला। मातिरहनुभयो होला, बिस्तारै।
सरी, सरी! तपाईं ठमेलमा हुनुहुन्न थियो होला।
दरबारमार्ग?
लाजिम्पाट?
झम्सिखेल?
नयाँ बानेश्वर?
पुतलीसडक?
जावलाखेल?
वा अन्यत्र कहीँ?
जहाँ होस्!
तपाईंले चिच्चाएर, कराएर, रक्सी पिएर, डान्स गरेर, संगीतको तालमा जिउ हल्लाएर, साथीभाइसँग डिनर गरेर, सिगरेटको लामो सर्को तान्दै गोलो धुवाँ फुस्सफुस्स छोडेर नयाँ वर्षको स्वागत गर्नुभयो होला।
होइन?

र, राति अबेर, भनौं बिहानपख घर फर्कनुभयो होला, बेहोसीमा। वा, अर्धबेहोसीमा। अहिले २०११ को यो पहिलो बिहानीमा तपाईं तातो ओछ्यानमा ब्ल्यांकेट मुखसम्मै तानेर सुतिरहनुभएको होला, हिजो रातिका सम्झनाहरू धुमिल आइरहेका होलान्, सपना, तन्द्रा वा अर्धविपनामा।

पुस मध्य, जनवरी सुरुको यो चिसो दिनमा बिहानै उठ्नु पनि किन? आज शनिबार हो, विदा छ। नयाँ वर्षको पहिलो दिन। सुत्नोस्, मज्जाले सुत्नोस्- दस, एघार, बाह्र बजेसम्म वा अझै अबेरसम्म। के फरक पर्छ?
मलाई एउटै चिन्ता छ, आज सायद काठमान्डु कथाका पाठकहरू कम हुनेछन्।

हुन पनि कसले पढ्छ नयाँ वर्षको पहिलो दिन बिहानबिहानै अखबार? यो जाडोमा, त्यही पनि सन् २०११ सुरु भएको यो बिहानीमा सिरक वा ब्ल्यांकेटबाट हात बाहिर निकालेर अखबार पढ्ने कल्पनामात्रै पनि ठिहिर्‍याउने हुन्छ। फुसफुसी निदाउनु वा निदाएको बहाना गर्नु वा निद्रा खुले पनि ओछ्यानमै बसेर आङ तन्काउनुको मजा अखबार पढेर लिन सकिन्छ?

हो, उसले पढ्न सक्छ आज अखबार! उसले पक्कै पनि हिजोको रात ठमेलमा बिताएन होला। बेहोसीमा नयाँ वर्षको स्वागत गर्ने परम्परा उसले छोडिसकेको छ। ठमेलको डिस्कोथेकमा मध्यरातको बाह्र बजेलाई काउन्टडाउन गर्दै धुवाँले रंगमगिएको वातावरणमा बियरको लामो चुस्की र सिगरेटको गहिरो सर्को तानेर नयाँ वर्ष मनाउने बोझिल परम्पराबाट ऊ बाहिरिइसकेको हुनुपर्छ।
धत्तेरी, ऊ कहाँ छ त काठमान्डुमा आज?

क्रिसमसकै दिन गोवा हिँडेको हो नि! यतिखेर गोवाको समुद्री तटमा सर्टस् लगाएर घाममा ढाड सेकाइरहेको होला।
होइन, होइन, यति बिहानै के समुद्री तट पुग्यो होला त्यो ठिटो?
मडगाउँ वा भास्को डिगामाको कुनै सानो रेस्टुरेन्टमा ब्रेकफास्ट खाइरहेको होला, बटर हालेको ब्राउन टोस्ट चबाएर कालो कफीको चुस्की मार्दै।

………..
बडो दिमाग खल्बलाउने कुरा गर्छ त्यो ठिटो आजकाल।
एक वर्षमै मान्छे कसरी परिवर्तन हुनसक्छ भन्ने सटिक दृष्टान्त हो मोरो। गाँजा, सिगरेट, ह्विस्की, हाहाहुहु, केटीलाई सुसेला हाल्ने, मौका परे जसलाई पनि हात छाड्दिहाल्ने उसको चरित्र एक वर्षमै एक सय असी डिग्री फेरिएको छ। अरूभन्दा पनि मलाई उसको निर्भय र आत्मविश्वासले कायल बनाउँछ। नियमी उस्तै। तर्क यसरी गर्छ, मानौं यही वर्ष तर्कशास्त्रमा मास्टर्स सकाएको छ। परम्परा, संस्कृति, रीतिथितिका कुरा गर्‍यो भने गतिलै चुट्किला सुनाएजसरी तिघ्रा बजाउँदै हाँस्छ। ठुल्ठुलो स्वरमा भन्छ- विद्रोही हुनुपर्छ, विद्रोही!
अघिल्लो साता भेटिएको थियो।

‘नयाँ वर्षको के प्लान छ डियर?’ मैले सोधेको थिएँ।
ऊ जोडसँग हाँसेको थियो, आफ्नो मौलिक शैलीका साथ, हाहाहा गर्दै।
म अकमक्क परेको थिएँ। पक्क परेर उसलाई हेरेको थिएँ।
ऊ अझै हाँसिरहेको थियो।
‘के भयो?’ मैले सोधेँ।
‘ह्वाट इज नयाँ वर्ष?’ उसले हाँस्दै सोधेको थियो।
मलाई रिस उठेको थियो।
‘न्यु इयर टु थाउजेन्ड इलेभेन,’ मैले झन्किँदै चर्को स्वरमा भनेको थिएँ।
‘कम अन दाइ,’ उसले अंग्रेजीमै भनेको थियो, ‘नयाँ वर्ष भन्नेजस्तो कुनै चिज हुँदैन। सन् २०११ सुरु हुनु भनेको एउटा प्राविधिक कुरा हो, क्यालेन्डरविद्हरूले रचना गरेको। केको नयाँ वर्ष?’
‘ह्वाट?’ म अचम्मित भएको थिएँ।
‘हो दाइ, समयलाई व्यवस्थित बनाउन रचना गरिएका उपकरणमात्र हुन्, यी वर्ष, महिना, दिन त!’
मेरो दिमागमा केही घुसेको थिएन।
‘महिनाको पहिलो दिन, वर्षको पहिलो दिन, शताब्दीको पहिलो दिनमात्र नयाँ हुने होइनन्, प्रत्येक पल नयाँ छ, प्रत्येक क्षण नयाँ छ, प्रत्येक घडी नयाँ छ दाइ, बुझ्नुभो?’
बाफ रे! ऊ दार्शनिक कुरा पो गरिरहेको रहेछ।

‘तपाईंलाई के भन्छ यो लन्ठु भनेजस्तो लाग्यो होला,’ उसले मेरो मनको कुरा पढेजसरी भनेको थियो, ‘नयाँ वर्षको पहिलो दिन, जन्मदिन वा कुनै अवसरलाई मात्र नयाँ मानेर मनाउने हो भने बाँकी ३ सय ६४ दिन बेकारमै जाने भए त!’

फुच्चेका तर्कले मलाई नाजवाफ पारेको थियो।
‘सो आइ डन्ट ह्याभ एनी प्लान फर योर सोकल्ड न्यु इयर,’ उसले गम्भीर हुँदै भनेको थियो, ‘खासमा म कहिल्यै योजनामा चल्दिनँ पनि, तर न्यु इयर भनेर जनवरी फस्टलाई मात्र सेलिब्रेसन गर्ने होइन, आइ सेलिब्रेट इच मोमेन्ट एज अ न्यु वन दाइ।’

………..

क्रिसमस इभको साढे छ हुँदै थियो, अघिल्लो शुक्रबार म ठमेल पस्दै गर्दा। म मात्र के, एउटा ठूलो हुल ठमेल छिरिरहेको थियो।

यसै त सिँगारिने ठमेल, क्रिसमस इभमा झनै आकर्षक भएको थियो। झिलिकझिलिक बल्ने बत्तीले सडक उज्यालो पारेका थिए। बत्ती र अन्य चम्किने सामग्रीले क्रिसमस ट्री सजाइएका थिए। उज्यालो र मान्छेको भिडले जाडो घटेको थियो। विदेशीहरू जोडी बाँधेर ठमेल छिरिरहेका थिए। नरसिंह चोेकमा कुनै ऐतिहासिक उत्सव छ भनेझैं मानिसहरू केशरमहलबाट पश्चिम लागिरहेका थिए।

ग्वारग्वार्ती मानिस ठमेल छिरिरहेको त्यो साँझमा मैले पर एकजना चिनेको मान्छे केशरमहलतिर फर्किरहेको देखेँ। घाँटीमा गलबन्दी बेरेर न्यानो ज्याकेट लगाएको कपुर एक्लो प्राणी थियो जो ठमेलबाट बाहिरिइरहेको थियो।
उसले पनि परैबाट मलाई देख्यो।
म मुस्काएँ। ऊ मुस्कायो।
नजिक आएर च्याप्प मेरो हात समात्यो र सोध्यो, ‘कता दाइ?’
हुलमा मैले उसलाई हिमालयन बैंकको पेटीतिर तानेँ। मूल सडकमा त भिडले बोलिसक्नु थिएन।
‘कता दाइ?’ उसले फेरि सोध्यो।
‘म क्रिसमस इभ मनाउन जाँदै गरेको यार, रमडुडलसम्म,’ मैले दंग पर्दै भनेको थिएँ।
हुन पनि दुई साताअघि एउटा जर्मन युवतीको इन्टरभ्यु गर्न आउँदा हिमालयन जाभामा कफी खाएको नगन्ने हो भने मैले ठमेलमा डिनर नखाएको झन्डै दुई महिना भइसकेको थियो। क्रिसमस इभ मनाउन भन्दै रमडुडल रेस्टुरेन्टमा साथीहरूले रमाइलो गर्न निम्त्याएका थिए।

कपुर अरू मानिसको ध्यान तानिने गरी हाँसेको थियो, उसको आफ्नै अनौठो शैलीमा- हा… हा… हा…।
मैले आश्चर्यचकित भएर उसको मुखमा हेरेको थिएँ।
‘केही काम नपाएर अब क्रिसमस इभ मनाउने दाइ तपाईं पनि? त्यही पनि ठमेलमा?’ ऊ हाँस्दै बोलेको थियो।
‘किन र? आज मेरो छुट्टी हो,’ मैले भनेको थिएँ।
‘हा… हा… हा… मैले पनि त्यही त भनेको दाइ, यो जाडोमा छुट्टीको दिन मजाले घरमा परिवारसँग तातो गुन्द्रुकको झोलसँग भात नखाएर के डिनर खान ठमेल आउनुभएको?’ उसले डिनर शब्दमा बढी दबाब दिँदै उडाउने शैलीमा भनेको थियो।

‘तिमीचाहिँ कहाँबाट आएको?’ मैले कुरा छल्न भनेको थिएँ।
‘म त्यहाँ गल्कोपाखामा एउटा साथी भेटेर ठमेलको बाटो फर्केको। क्रिसमसको नाउँमा कसरी मानिसहरू बेहोसीतर्फ यात्रा गरिरहेका छन् भनेर हेर्न ठमेल छिरेको। राम्रै भयो, तपाईं भेट्टिनुभयो।’
म ङिच्च हाँसेको थिएँ र बोलेको थिएँ, ‘ल यार, म जान्छु, साथीहरू कुरिरहेका होलान्।’
‘ह्या दाइ, छोड्दिनुस् डिनर-सिनर, तपाईंजस्तो बु‰ने व्यक्ति क्रिसमस इभको नाममा बरालिने होइन, दारुसारु छाड्दिसकेको मान्छेले यो जाडोमा के खानु त्यो रेस्टुरेन्टमा? मज्जाले सर्‍यामसर्‍याम तातो भात खान छाडेर! जाउँ बरु हिँड्दै दाजुभाइ घरतिर।’
मलाई के गरुँ-कसो गरुँ भएको थियो।
‘ह्या, ल नयाँ बानेश्वरसम्म हिँड्दै जाऊँ, हिँड्नुस्,’ उसले मलाई तानेको थियो।
म केशरमहलतिरै डोरिएको थिएँ।

………..

आउन सकिनँ, इन्जोय योर टाइम, मेरी क्रिसमस- साथीहरूलाई टेक्स्ट गरिदिएँ।
उसले मेरो हात समातेरै दरबारमार्गतिर डोर्‍यायो।

साँझ परिसकेको थियो। सडकमा मोटरसाइकल र साना गाडीहरूले हेडलाइट बालिसकेका थिए। सबै हतारमा ठमेलतिरै गएझैं देखिन्थे। दरबारमार्ग तुलनात्मक रूपमा कम कोलाहलपूर्ण थियो। हामी दरबारमार्गको पश्चिमी पेटी हुँदै महेन्द्र सालिकतिर बढिरहेका थियौं। होटल-रेस्टुरेन्ट बत्तीहरूले सजाइएका थिए। भित्र धेरैजसो नेपाली र केही विदेशी प्रसन्न मुद्रामा भोजन गरिरहेका थिए।
‘म बुझ्दिनँ दाइ, किन नेपालीहरूलाई जहिले पनि मात्ने एउटा अवसर चाहिन्छ,’ अन्नपूर्ण होटल अघिल्तिरबाट हिँड्दै गर्दा कपुर बोल्यो।

‘क्रिसमस त अब सबैको चाड भइसक्यो नि,’ मैले भनेँ।
‘कुरा चाडको होइन दाइ, नेपालीलाई जहिल्यै रक्सी खाने अवसर चाहिन्छ, मात्ने, बेहोस हुने मौकाको ताकमा हुन्छौं जहिल्यै हामी,’ उसले भन्यो।
मलाई दरबारमार्गको चहलपहल रमाइलो लागिरहेको थियो। त्यसैमा हराइरहेको थिएँ। केही बोलिनँ।
‘अब हेर्नुस् न, सबैले क्रिसमस, न्यु इयर भनेर अनेक योजना बनाएका छन्, मानौं बाँकी दिन केही होइनन्। मेरा साथीहरू कोही पोखरा जाने भन्छन्, कोही नगरकोट, कोही सौराहा जाने भन्दै दंग परेका छन्। बाहिर कहीँ नगए ठमेल, दरबारमार्ग त छँदै छ।’
‘सेलिब्रेसन,’ मैलै एक शब्दमा जवाफ दिएँ।
‘सेलिब्रेसन होइन दाइ, बेहोसीमा जाने एउटा अवसर!’ उसले भन्यो र मतिर व्यंग्यात्मक आँखा फर्कायो।
महेन्द्र सालिकअघिको जेब्राक्रसबाट हामी कमलादीतिर मोडियौं।
ऊ बोल्दै थियो, ‘हामीले प्रत्येक दिन, प्रत्येक क्षण उत्सवपूर्ण रूपमा बिताउनुपर्छ, त्यो पनि होसपूर्वक। नयाँ वर्षजस्ता प्राविधिक विषयमा अल्भि्कने होइन दाइ, त्यो दिन त क्यालेन्डरमात्र पल्टिने हो।’

………..

हामी प्रज्ञा प्रतिष्ठान पश्चिमको बाटो हुँदै पुतलीसडक पुग्यौं। साँझ परिसके पनि धुलोधुवाँले नाक पोल्दै थियो। क्रिसमस इभको चमकदमकले सडकमा ट्राफिक बाक्लो थियो। पैदलयात्री पनि हतारिएजस्ता देखिन्थे।
हामी कुमारी सिनेमाघर छिर्ने मोडबाट बाटो काटेर डिल्लीबजारतिर लाग्यौं।
ठमेलदेखि राँकिएर हिँडेकाले होला, डिल्लीबजारको उकालोमा जाडोयाममा पनि चिटचिट पसिना आएको थियो।

कपुर बोल्दै थियो, ‘हामीले लिने प्रत्येक श्वास नयाँ हो दाइ, हाम्रा मुखबाट निस्कने प्रत्येक आवाज नयाँ हुन्, हाम्रो शरीरमा बग्ने प्रत्येक थोपा रगतलाई फोक्सोले हर क्षण शुद्ध पारेर नयाँ बनाएको हुन्छ। अनि ३ सय ६५ दिनमा आउने एउटा दिनलाई हामी नयाँ भनेर सेलिब्रेसन गर्ने?’
म केही बोलिनँ।
‘महसुस गर्न सक्नुपर्छ दाइ, होसपूर्वक बाँच्न सक्नुपर्छ, यसो गर्न सक्यो भने हामीले हिँड्ने प्रत्येक पाइला पनि नयाँ हुन्छन्,’ ऊ दर्शन छाँट्दै थियो।
म चुप थिएँ। पेटमा मुसा दगुर्दै थिए।
डिल्लीबजारको एउटा सानो रेस्टुरेन्टमा छिरेर हामीले हाफहाफ प्लेट भेज मोमो खायौं। त्यो सानो रेस्टुरेस्टमा पनि क्रिसमस ट्री सजाइएको थियो। मोमो खाएपछि जिउमा अलि बल आएजस्तो भयो।
मैतीदेवी हुँदै पुरानो बानेश्वर चोक पुगेर हामी नयाँ बानेश्वरतिर मोडियौं। यो एरियामा लोडसेडिङ रहेछ। बाटो अँध्यारो थियो।

कपुर अझै नयाँ-पुरानाको गफ हाँकिरहेको थियो, हात हल्लाइहल्लाई।
‘प्रत्येक क्षण नयाँ हो दाइ, पुरानो बानेश्वरबाट नयाँ बानेश्वर तपाईंले अहिलेसम्म कतिचोटि हिँडेर तय गरिसक्नुभयो होला, तर अहिले हामीले हिँडेको यो यात्रा पहिले हिँडिसकिएको होइन, नितान्त नयाँ हो। होइन भन्नुस् त?’
म निरुत्तर भएको थिएँ।

………

ह्वाइट हाउस कलेजनिर आइपुग्दा जिउमा राम्रै पसिना आएको थियो। साँँझको हिँडाइले केही क्यालोरी भए पनि घट्यो भन्ने लागेको थियो।
रमडुडलमा साथीहरूसँग गर्नुपर्ने हजारजति खर्च त बचेकै थियो।
घर पस्ने मोड आएपछि मैले भनेँ, ‘ल यार, रमाइलो भयो, तिमीसँगको हिँडाइ। तिम्रो दर्शन पनि सुनियो।’
‘दर्शन होइन दाइ, यो सत्य हो,’ उसले फेरि गफ दियो।
‘ल… ल… अब म जान्छु,’ मैले भनेँ।
‘हुन्छ दाइ, तपाईंलाई नयाँ पलको शुभकामना। ह्यापी न्यु मोमेन्ट। न्यु इयर सुखद रहोस्! सन् २०११ को क्यालेन्डर पल्टिने दिन म काठमान्डुमा हुन्नँ।’
‘हो र?’
‘हो दाइ, म भोलि क्रिसमसकै दिन पन्ध्रदिने यात्रामा निस्कँदै छु।’
‘ओहो, अघि त न्यु इयरमा केही प्लान छैन भन्थ्यौ। यस्तो रमाइलो रै’छ त, को को जाने, कता?’
‘नयाँ वर्ष भनेर होइन दाइ, ठ्याक्क जाँच सकिएको बेला परेर हो। म एक्लै जान्छु। एक्लै यात्रा गर्नुको मज्जै बेग्लै हुन्छ। ट्र्र्र्रेन टिकट एक महिनाअघि नै लिइसकेको छु। काठमान्डुबाट भैरहवा जान्छु, त्यहाँबाट गोरखपुर, बनारस, इलाहावाद, खजुराहो, मुम्बई हुँदै अर्को साता गोवा पुग्छु।’
‘वाउ…एक्स्लेन्ट… ,’ मेरो मुखबाट निस्कियो।
‘सन् २०११ को पहिलो दिन म गोवामा हुन्छु दाइ, त्यहाँ एक साताजति रमाइलो गरेर काठमान्डु फर्किने योजना छ।’
‘ल यार, बधाई छ, गज्जब टि्रप रैछ तिम्रो,’ मलाई आहारिस लाग्यो।
‘थ्यांक्स दाइ, ह्यापी न्यु इयर टु यु। प्रत्येक पललाई नयाँ महसुस गर्ने अभ्यास आजैदेखि थाल्नुहोला, यु विल इन्जोय इट। तपाईंभित्र यति धेरै ऊर्जा छ, प्रत्येक क्षण नयाँ वर्षको पहिलो दिन भएजसरी सेलिब्रेसन गर्न सक्नुहुन्छ।’

उसले बोलिसक्नु पनि, म घरतिर पस्ने गल्लीको बत्ती झलमल्ल बल्यो। लोडसेडिङ सकिएछ।
घडी हेरेँ, नौ बजेको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: