जेलमुक्त भएपछि फेरि सक्रिय भए डन

प्रहरी आक्रामक भएपछि भटाभट पक्राउ परेका काठमाडौंका 'डन’ राजनीतिक हस्तक्षेपले फटाफट छुट्न थालेका छन् । प्रहरीले हाजिर हुन बोलाउँदा कुमार घैंटे त आइतबार कांग्रेस नेता जगदीश्वरनरसिंह केसीलाई लिएर हनुमानढोका पुगेका थिए । घैंटेजस्ता 'डन’ले राजनीतिक छहारीमा हप्ताअसुली, ठेक्कापट्टा र रात्रि-व्यवसाय चलाइरहेका छन् ।


ठूला डन पक्राउ परे पनि नयाँ समूह उनीहरूको सिको गर्दै अगाडि आएका छन्

एसएसपी
रणबहादुर चन्द

काठमाडौंमा ‘छुट्टै राज्य’ चलाइरहेका ‘डन’ फेरि सक्रिय बन्न थालेका छन् । जेल परेका ‘डन’हरू धमाधम रिहा हुन थालेपछि काठमाडौंमा गुण्डागर्दी र हप्ताअसुली बढेको छ ।

राजधानीका चर्चित डन चक्रे मिलन, सगुन श्रेष्ठ, सन्दीप पाठक, सूर्य तामाङ ‘शुक्रे, बलराम सापकोटा ‘बले’, रविन तामाङ ‘लुम्बडी’ मात्र हाल प्रहरी नियन्त्रणमा छन् । नाम चलेका अन्य डन दीपक मनाङे, गणेश लामा, कुमार घैंटे, राजु गोर्खाली, दिनेश अधिकारी ‘चरी’, तेजेन्द्र गुरुङ, काजी शेर्पा, बागबहादुर लामा ‘बाघे’, साजन महर्जन, कृष्ण बुढाथोकी भने बाहिर आएका छन् ।

बाहिर आएपछि उनीहरू राजनीतिक छहारीमा फेरि आफ्नै धन्दामा सक्रिय भएको प्रहरीको भनाइ छ । डान्सबार र म्यानपावरबाट हप्ताअसुलीबाहेक उनीहरू पछिल्लो समयमा हाउजिङ व्यवसायतर्फ आकषिर्क भएका छन् । उनीहरूले हाउजिङमा लगानी गर्नेदेखि घरजग्गा व्यवसायीसँग नियमित पैसा असुल्ने गरेको स्रोत बताउँछ । कतिपय ‘डन’ होटल तथा डान्सबारमा हप्ताअसुलीमा लागेका छन् ।

स्वयम्भू क्षेत्रका डन बाघे हाल सबैभन्दा सक्रिय रहेको प्रहरी बताउँछ । उनको समूहले १ पुसमा महानगरीय प्रहरी अपराध महाशाखाका असई कुमार रानालाई कुटेको थियो । मोटरसाइकलमा आएका १५/२० जनाले रानाको बाटो छेकेर कुटपिट गरेका थिए ।

समूहका सदस्य सैलेश लामालाई प्रहरीले पक्राउ गरे पनि अन्यलाई पक्रन सकेको छैन । बाघेसहित समूहका अन्य व्यक्तिको खोजी भइरहेको महाशाखाले जनाएको छ । नुवाकोट घर भएका बाघेलाई कांग्रेसका केन्द्रीय नेताले संरक्षण गरेको प्रहरीहरू बताउँछन् ।

जेलमुक्त भएलगत्तै सक्रिय अर्का डन हुन्- कुमार घैंटे । कुमार श्रेष्ठ वास्तविक नाम भएका घैटे सामाखुसी क्षेत्रमा सक्रिय छन् ।

सामाखुसीका कुमार मल्ललाई गोली हानेको आरोपमा उनलाई प्रहरीले डेढ वर्षअघि पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो । कर्तव्य ज्यानजस्तो गम्भीर मुद्दामा धरौटीमा अदालतले छोडिदिएपछि उनी सक्रिय बनेका हुन् ।

जेलबाट छुटिसकेपछि पनि उनी शंकास्पद गतिविधिमा लागेको महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख एसएसपी रणबहादुर चन्द बताउँछन् । ‘घैंटे जेलबाट छुटेपछि पनि शंकास्पद गतिविधिमा लागेको छ भन्ने सूचना छ, हामी उसमाथि निगरानी गरिरहेका छौँ,’ उनले भने ।

महाशाखाले उनलाई आइतबार बोलाएको थियो । तर, उनी हनुमानढोका पुग्दा साथमा थिए नुवाकोटका कांग्रेस नेता जगदीश्वरनरसिंह केसी । नेतासँग गएका घैंटे प्रहरीसँग हात मिलाएर फर्किए ।

त्यसैगरी काभ्रेली समूहका नाइके गणेश लामा पनि हिरासतबाट फर्किएपछि ठेक्कापट्टामा सक्रिय छन् । ‘क’ वर्गको ठेक्का कम्पनी सिरुवा कन्स्ट्रक्सन बेचेर उनी चार महिना दुबई बसी दुई महिनाअघि फर्किएका थिए । प्रहरीले पिछा गरेपछि उनी विदेशतर्फ हानिएका हुन् ।

उताबाट फर्किएलगत्तै दुई महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । प्रहरीले उनलाई सार्वजनिक मुद्दा चलाई सुधि्रने सर्तसहित दुई सातामै छोडिदिएको थियो । त्यसको दुई हप्तापछि उनी फेरि क्यासिनो र्‍याडबाट पक्राउ परे । त्यतिखेर पनि उनलाई प्रहरीले मुद्दा नचलाई छोडिदिएको थियो ।

राजधानीमा आधा दर्जन डान्सबार चलाएका लामाको बालुवा निकाल्ने र ठेक्कापट्टा धन्दा फस्टाएको छ । काभ्र्रे स्थायी घर भएका लामाको काभ्रेमा हुने सबै ठेक्कापट्टामा एकलौटी छ । अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्, ‘पहिले ट्क्यासी ड्राइभर रहेका लामा अहिले ४०/५० करोडको मालिक बनिसकेका छन् ।’

स्पाइडर गु्रपका नाइके सन्दीप पाठकलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले तीन साताअघि प्रक्राउ गरी लागूऔषधअन्तर्गत मुद्दा चलाइसकेको छ । प्रहरीले उक्त सञ्जाललाई समाप्त गरेको दाबी गरेको छ ।

डनका पनि नाइकेका रूपमा चिनिने दीपक मनाङे गत चैतमा जेलबाट छुटेपछि राजनीतिमा लागेका छन् । लक्ष्मण थारूको अध्यक्षतामा रहेको संघीय गणतान्त्रिक राष्ट्रिय फोरम पार्टीमा उनी केन्द्रीय सदस्य हुन् । जेलबाट छुटेपछि आफू व्यवसाय र राजनीतिमा मात्र रहेको उनको भनाइ छ । तर पनि प्रहरी स्रोत भने नेपाल शिक्षण अस्पतालका औषधि पसलमा हुने भाडाको ठेक्कामा मनाङेकै कब्जा रहेको बताउँछ । आपराधिक गतिविधिमा लागेको आशंकामा उनलाई काठमाडौं परिसरले पक्राउ गरी छोडिदिएको थियो । स्रोतका अनुसार ठमेल क्षेत्रमा अझै उनको हप्ताअसुली जारी छ ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामै गत वर्ष पक्राउ परी धरौटीमा छुटेका दिनेश अधिकारी चरी पनि एमालेको युवा संघको संरक्षणमा सक्रिय छन् । नयाँबजार क्षेत्रमा सक्रिय रहेका चरी सोही ठाउँका निरञ्जन सिलवाललाई गोली हानेको अभियोगमा एकपटक पक्राउ परेकोमा लैनचौर प्रभागका तत्कालीन इन्चार्ज दयानिधि ज्ञवालीलाई आठ लाख घुस दिएर छुटेका थिए । आरोप पुष्टि भएपछि प्रहरी निरीक्षक ज्ञवाली कारबाहीमा परेका थिए । पछि प्रहरीमा आत्मसमर्पण गरेका चरी धरौटीमा छुटेका थिए । हाल उनी प्ररायुसंघका अध्यक्ष महेश बस्नेतको सहयोगी बनेको स्रोत बताउँछ ।

त्यसैगरी गत महिना मात्र जेलबाट छुटेका डन तेजेन्द्र गुरुङ सिंगापुरतर्फ लागेका छन् । चक्रे मिलन समूहका यादव डंगोललाई गोली हानी हत्या गरेको र डुण्डुप लामालाई अपहरण गरेको अभियोगका तेजेन्द्र चार महिनाअघि मात्र पक्राउ परेका थिए । गम्भीर मुद्दामा समेत उनलाई अदालतले धरौटीमा छाडिदिएकोमा प्रहरी स्रोतले आश्चर्य व्यक्त गरेको छ । गुरुङ चक्रे मिलनका भाइसमेत हुन् ।

डंगोललाई गोली हानेको आरोप लागेका साजन महर्जन पनि जेलबाट छुटेपछि पछिल्लो समयमा धन्दामा सक्रिय रहेको प्रहरी बताउँछ । महर्जनले बुढानीकलकण्ठनजिकैको सांग्ले खोलाको बालुवा निकाल्ने ठेक्का हरेक वर्ष हात पार्दै आएका छन् । त्यसबाहेक रोडा-गिटीको व्यवसायमा पनि उनी आबद्ध छन् ।

त्रि-चन्द्र क्याम्पसमा पढ्दादेखि नै डनको परिचय बनाएका राजु गोर्खाली भने कांग्रेसको राजनीतिमा लाग्ने तयारीमा रहेको स्रोत बताउँछ । क्याम्पसमा रहँदासमेत नेविसंघनिकट रहेका गोर्खालीको कांग्रेसका वरिष्ठ नेताहरूसँग समेत राम्रो पहुँच छ । आफ्नै व्यावसायिक साझेदार राकेश लिम्बूको हत्याको अभियोगमा उनलाई पक्राउ गरिएको हो । गत महिना मात्र छुटेका गोर्खाली क्याटरिङ खोल्ने तयारीमा रहेको पनि उनीनिकट स्रोत बताउँछ ।

पहिले गणेश लामाको साझेदार रहेका काजी शेर्पा जेलबाट छुटेदेखि नै ठेक्कापट्टामा छन् । खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश ठेक्का हरेक वर्षजस्तो उनले पाउने गरेका छन् । यो वर्षको उपत्यकामा प्रहरी, सशस्त्र र सेनाको रासनठेक्का शेर्पाले नै हात पारेका छन् ।

पहिले उनी ठमेल किचेन नामक रेस्टुरेन्ट पनि सञ्चालन गर्दथे । दीपक मनाङेको प्रतिद्वन्द्वीका रूपमा एकताका सक्रिय रहेका शेर्पा मनाङे समूहका सहयोगीलाई काटेको अभियोगमा एक वर्ष जेल परेका थिए । उनी नेपाली सेनाका पूर्वमेजर हुन् ।

राजधानीमा क्यासिनो ‘किङ’का रूपमा चिनिने बलराम सापकोटा ‘बले’लाई भने बिहीबार मात्र प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा एक लाखको दैनिक १० हजार ब्याजमा ऋण दिने र नतिरे अपहरण गर्ने गरेकाले उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्दले बताए ।

सामान्य आर्थिक अवस्थाबाट आएका सापकोटा हाल ५० करोडभन्दा बढीका मालिक भएको प्रहरी बताउँछ । पैसा कमाएपछि उनले काठमाडौंबाट काभ्रे जन्ती लग्न हेलिकोप्टर भाडामा लिएका थिए ।

गणेश लामाको समूहबाट छुटेका रमेश सुनुवार पनि डिस्को सञ्चाउन थालेका छन् । दरबारमार्गमा होटल याक एन्ड यतीको छेउमा उनको इन्सोमेनिया डिस्को छ ।

जेलबाहिर रहेर पनि निष्त्रि

य रहने डनहरूमा कृष्ण बुढाथोकी र विश्वक्रान्तिको समूह रहेको छ । एकताका चाबहिल क्षेत्रमा सक्रिय बुढाथोकी क्षेत्री समाजको राजनीतिमा लागेका छन् भने बानेश्वर क्षेत्रमा सक्रिय विश्वक्रान्ति पनि गुण्डागर्दीमा नरहेको प्रहरी बताउँछ ।

जेलभित्रैबाट पनि धन्दा

केही डन भने जेलभित्रैबाट समेत धम्की दिएर व्यापारीहरूसँग पैसा असुल्न सक्रिय रहेको स्रोत बताउँछ । तिनीहरूमध्ये एक हुन्- शुक्रे भनिने दोलखाका सूर्यबहादुर लामा ।

कर्तव्य ज्यानलगायतका तीनवटा मुद्दामा हाल जेलमा रहेका लामाले आफ्ना सहयोगीमार्फत ठेकेदारहरूसँग अझै पैसा उठाउने गरेका छन् । उनका समूहका सदस्य रमेश तामाङ ‘जोर्डन’लाई एक महिनाअघि प्रहरीले पक्राउ गर्दा रहस्य खुलेको हो ।

शुक्रेको निर्देशनमा व्यापारीहरूसँग उनले पैसा असुल गर्दै आएको उनकै फोन रेकर्डमा देखिएको प्रहरी स्रोत बताउँछ । तर, बन्दी प्रत्यक्षीकरणको रिटबाट उनी एक सातामै छुटेका थिए । त्यसैगरी चक्रे मिलन, सगुन श्रेष्ठजस्ता डनहरू पनि जेलमा भए पनि उनीहरूको समूहका केही सदस्य बाहिर सक्रिय छन् ।

चलचित्रका नायक तथा निर्मातासमेत रहेका अर्का डन रोज राणा भने मानव बेचविखन मुद्दाअन्तर्गत पुर्पक्षका लागि नख्खु जेलमा छन् । डान्सबारमा युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाएको जाहेरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा चलाएको हो ।

चार महिनासम्म प्रहरीले खोजी गर्दा लुकेर बसेका राणाले आत्मसमर्पण गरेका थिए । १३ पुसमा उनको मुद्दाको पेशी छ । उनको वास्तविक नाम सरोज थापा हो ।

प्रहरी आक्रामक बनेपछि विगत दुई वर्षयता राजधानीमा डनहरूबीच भिडन्त त भएको छैन तर पनि हप्ताअसुली र ठेक्कापट्टामा हुने उनीहरूको गुण्डागर्दी भने यथावत् छ ।

नेपालमा सुरुमा डनका रूपमा कहलिएका थिए मनाङे, गोर्खाली र चक्रे । मनाङे ठमेल क्षेत्रमा, चक्रे त्रिचन्द्र-दरबारमार्ग र चक्रे चक्रपथ क्षेत्रमा सक्रिय थिए । मनाङे जेल परेपछि चक्रेको समूहमा रहेका गणेश लामाले उक्त क्षेत्रमा कब्जा जमाएका थिए ।

पछि पैसा उठाउने विषयमा उनीहरूबीच विवाद हुँदा काटाकाट भएको थियो । तर, केही वर्षयता यस्तो झगडा भने कम भएको छ र पछिल्लो समयमा सबैजसो डन व्यापारिक क्षेत्रमा आकषिर्त हुन थालेका छन् ।

‘केही ठूला डन पक्राउ परे पनि नयाँ समूह उनीहरूको सिको गर्दै अगाडि आएका छन्,’ महाशाखाका एसएसपी चन्द भन्छन् । जेलबाट छुटेका केही व्यक्ति सक्रिय बन्न खोजेकाले त्यसमा प्रहरी सजग बनेको उनले बताए ।

डनको गतिविधिलाई नियन्त्रण गर्न महाशाखाले दुईवटा कार्यक्रम ल्याएको चन्द सुनाउँछन् । ‘पहिले हामीले पर्सनल ट्रयाकर प्रयोगमा ल्याएका छौँ, यसले उनीहरू के गरिरहेका छन् भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘दोस्रो सर्वसाधारणमा गएर कुन क्षेत्रमा को-को गुण्डागर्दीमा संलग्न छन् भनेर अनुसन्धान गर्दै छौँ ।’ पर्सनल ट्रयाकरमा रहेका कुमार घैंटे कतिवेला कहाँ जान्छन् भन्ने रेकर्ड प्रहरीले प्रविधिबाटै जान्ने गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: