रित्यायो क्यासिनोले

क्यासिनोको लत लागेर उम्केकाहरू विरलै छन् । जनकपुरका नारायण सुडी त्यो दुव्र्यसन’ बाट मुक्त भए तर उनीसँगै पजेरोमा क्यासिनो छिर्नेहरू सडकमा पुगेका छन् । भैंसेपाटीका एक युवकले पहिलो दिन ५ लाख जिते भने दोस्रोपल्ट ५० लाख हात पारेपछि क्यासिनो जानै छाडिदिए । तर क्यासिनोले जितेर नआएको भन्दै उनको खोजी गर्‍यो । पत्ता लागेपछि युवती लगाएर क्यासिनो छिरायो र सबै सम्पत्ति स्वाहा बनाइदियो । नेपालीलाई प्रवेश दिन नपाइने सर्तमा खुलेका क्यासिनोले हरेक रात नेपालीकै सम्पत्ति बर्बाद पार्दै पैसा सोहोरिरहेछ । त्यही पैसाको बलमा राजनीतिक संरक्षण प्राप्त छ । सरकार मात्र होइन, समाजले समेत यसमा चासो देखाएको छैन ।

‘मेरो माछा पसल राम्रो चलिरहेको थियो । बानेश्वरमा बस्ने मन्त्रीदेखि पियनसम्म माछा किन्न मकहाँ ओइरिन्थे । कुनै अम्मल थिएन । गोजीमा लाख रुपैयाँ हुँदा पनि एक कुड्का सुपारी किनेर खान्नथें । तर क्यासिनो जान थालेपछि बर्बाद भएँ । २०४९ मा पहिलो पटक क्यासिनो गएको थिएँ । २०६२ सम्ममा सबै जेथा सकियो र ४० लाख ऋण पनि लाग्यो । त्यसैबेला एक दिन माछा बिक्री गर्ने थोक बिक्रेताले पैसा नपाएको झोंकमा मलाई डेरामा लगरे थुनिदियो । त्यसपछि मैले विष खाएर आत्महत्या गर्ने प्रयास गरें ।’

जनकपुरबाट २०३७ सालमा काठमाडौं आउँदा नारायण सुडी १३ वर्षका थिए । राजधानी आएलगत्तै उनले रणमुक्तेश्वरको माछा पसलमा काम गरे । तीन वर्षपछि उनले आफ्नै माछा पसल सुरु गरे । एउटा कामदार केटा आफ्नै अगाडि साहू भएपछि सहकर्मीहरूको व्यवहार परिवर्तन भयो । त्यहाँ पसल चलाउन नसकेपछि उनको माछा पसल नयाँबानेश्वर सर्‍यो ।

२०४९ को त्यो एक दिनअघिसम्म बानेश्वरमा व्यापार राम्ररी चलिरहेको थियो । नारायण पहिलो पटक क्यासिनो गएको दिन सम्भिmन्छन्, जुन रात उनले डेढ लाख सिध्याए । रणमुक्तेश्वरका व्यापारीले उनलाई ‘काठमाडौंको स्वर्ग’ देखाउन भनेर पाँचतारे अन्नपूर्णको डान्स बार पुर्‍याएका थिए । त्यही रात उनी होटल परिसरमा रहेको क्यासिनो पनि छिरे । रुलेटमा पैसा हाल्दा गोजीको डेढ लाख कतिखेर सिद्धियो उनलाई पत्तै भएन । हारेको पैसा फर्काउन क्यासिनो छिर्दा अर्को १२ लाख सिध्याए ।

त्यसपछि केही समय रोकिएको क्यासिनो जानेक्रम २०५८ मा फेरि सुरु भयो । ‘दसैंका बेला दुई-तीन दिन खेल्दा फेरि १० लाख सकियो,’ अहिले पनि बानेश्वरमा माछा पसल चलाइरहेका नारायणले भने । २०६०/६१ तिर क्यासिनो अन्नामा लगातार तीन दिन जुवा खेल्दा उनले जनकपुर स्टेसनरोडको घर बिक्री गरेको १३ लाख पनि सकियो । क्यासिनोकै कारण सबै सम्पत्ति सकियो । उनी अझै कहिलेकाहीं क्यासिनो जान्छन् । ‘दुई/चार हजार लिएर जान्छु, एकछिनमै र्फकन्छु,’ उनले भने ।

अहिले लत छुटेकाले जनकपुरमा पुनः घर जोड्न सफल भएको उनले सुनाए । बर्बाद भइसके पनि कान्छी श्रीमतीका कारण उक्सिन सकेको बताउने उनले चिनेका साथीभाइचाहिँ उनीजति भाग्यमानी भएनन् । ‘पजेरो चढेर क्यासिनो आउने गरेका पाटनका एक मित्र टाट प्ाल्टेपछि सय रुपैयाँ सापटीका लागि पटक-पटक मेरो पसल आइसके,’ उनले भने । क्यासिनोले सकिएर सुध्रेका नारायणको संगतमा आउनेमा बिग्रनेकै जमात छ ।

ललितपुर भैंसेपाटीका एक युवक साथीको लहैलहैमा तीन वर्षअघि क्यासिनो छिरेकै दिन पाँच लाख रुपैयाँ जित्न सफल भए । दोस्रो पटकमा ५० लाख रुपैयाँ हात परेपछि उनी क्यासिनो जान छाडे, जितेको पैसा हारिन्छ भनेर । तर जितेको ग्राहक नआएपछि क्यासिनोले उनको खोजी गर्न थाल्यो । पत्ता लागेपछि उनको पछाडि एउटी सुन्दरी लगाइदियो । ती सुन्दरीले आफ्नो जालमा फसाएर युवकलाई फेरि क्यासिनो छिराउन सफल भइन् । क्यासिनो छिरेका युवक तीन दिनसम्म निस्केनन्, खेलिरहे । भैंसेपाटीको सबै सम्पत्ति सिध्याएपछि उनी दुई वर्षदेखि कहाँ छन्, स्थानीय कसलाई थाहा छैन । सिन्धुपाल्चोकका सुन्दरे शेर्पाले केही वर्षअघि विद्यालयको नाममा जम्मा भएको ५ लाख रुपैयाँ झिकेर जुवामा सिध्याएपछि एभरेस्ट क्यासिनोले उनकी छोरीलाई जागिर दिएर थामथुम पारेको थियो ।

जुवाको नशालाई लागू औषधभन्दा पनि कडा भन्छन्, नारायण । राम्रो ग्राहक भएकाले क्यासिनोमा सुत्नका लागि कोठा दिन्थ्यो । ‘एकैछिन सुतेपछि क्यासिनोमै र्फकन मन लागिहाल्ने,’ उनले सम्भिmए । क्यासिनोमा व्यापारी, चिकित्सक, सरकारी कर्मचारी, बैंकर सबै क्षेत्रका मानिस आउने उनी बताउँछन् । पछिल्लो समय जग्गा कारोबारी/दलाल र सजिलै पैसा कमाउनेले क्यासिनो भरिएको उनको अनुभव छ ।

मिहिनेत गरेर खाने वर्ग पनि क्यासिनोमा लागेर बर्बाद भएको नारायणले देखेका छन् । नयाँबानेश्वरमा ठेला व्यापार गर्नेले दिनभरको कमाइ क्यासिनोमा उडाएका छन् । क्यासिनो बन्द भए पनि हुनेखाने जुवाडेले विदेशमा गएर खेलिछाड्ने उनको दाबी छ । मेहनत मजदुरी गर्नेलाई समेत बर्बाद गरिरहेको क्यासिनो बन्द हुनुपर्ने उनी बताउँछन् ।

पर्यटक भित्र्याउन भन्दै ४४ वर्षअघि सोल्टी होटलमा भित्रिएको क्यासिनो अहिले मुलुकभरि फैलिँदो छ । ‘पैसाकै खेल’ मा भटाभट क्यासिनो इजाजत लिने क्रम बढेको छ । कानुनअनुसार प्रवेश गर्नै नपाउने नेपाली नागरिककै भरमा क्यासिनो व्यवसाय चलिरहेछ । द्वन्द्वकालमा पर्यटक आगमन न्यूनतम विन्दुमा पुगेका बेला पनि क्यासिनो थपिनुले नेपाली नागरिक लक्ष्य गरी क्यासिनो खुलेको बुझ्न गाह्रो छैन । लाहुरेको रेमिट्यान्स लक्ष्य गरेर पोखरामा दुईवटा क्यासिनो चलेका छन् । श्रीमान् घर नआएपछि खोज्दै क्यासिनो पुग्नेको संख्या बढ्दै गएको धेरैको अनुभव छ ।

पर्यटन मन्त्रालय यतिबेला मिनी क्यासिनोको नाममा भटाभट जुवाघरको इजाजत बाँड्न उद्यत मात्र छैन, पर्यटनमन्त्री स्वयं उद्घाटन गर्दै हिँडेका छन् । पाँचतारे होटलले मात्र क्यासिनो इजाजत पाउने भएकाले मिनी क्यासिनोका नाममा तल्लोस्तरका होटलमा जुवाघरको इजाजत वितरण थालेका छन्, पर्यटनमन्त्रीले । क्यासिनो प्रविधिलाई मिनी क्यासिनो भनेर झुक्याउन खोजिएको छ । शुक्रबार सार्वजनिक लेखा समितिमा पर्यटन सचिवले ‘मिनी क्यासिनो नहुने, क्यासिनो मात्र हुने’ बताएका थिए ।

मिनी क्यासिनोका नाममा मन्त्रालयले ‘आपराधिक काम’ गरेको पर्यटनका एक उच्च अधिकारीले बताए । ‘क्यासिनोलाई पर्यटकीय उत्पादनका रूपमा स्वीकार्ने मुलुकमा पनि कुनै एक ठाउँमा यसलाई सीमित गरिएको छ । अमेरिकामा लसभेगास, भारतको गोवा, मकाओ यसका उदाहरण हुन् तर यहाँ क्यासिनोलाई दैलोदैलोमा पुर्‍याएर नागरिकलाई बर्बाद गर्न मन्त्री लागेका छन्,’ ती अधिकारीले गुनासो गरे । उद्योग- धन्दामा लगानी नहुने, भएका उद्योग पनि बन्द भइरहेको अवस्थामा एकपछि अर्का जुवाघर खुल्न थालेका छन् । पूर्वाधारलगायत पर्यटकीय सुविधामा माखो नमार्ने पर्यटन मन्त्रालय भ्रमण वर्षका नाममा जुवाघर खोल्ने अभियानमा तल्लीन छ । सार्वजनिक लेखा समितिको बैठकमा सभासद धनराज गुरुङले भ्रमण वर्षको नाममा पेइङ गेस्टका लागि भनेर जुवा सञ्चालन अभियान थालिएकामा आपत्ति जनाएका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: