प्लेटोनिक प्रेम हो त यो?

संगीत भनेपछि हुरुक्कै हुने किशोरी उदीयमान संगीतकारसँग प्रेम गर्न पुग्छे। उसैलाई रिझाउन संगीत सिक्छे। प्रेमीको प्रेरणा मिसिएको लगन तपस्या बन्छ। उसले छिटै सिक्छे र झन् कुशल संगीतकार बन्न पुग्छे। संगीतकार प्रेमी युगलको प्रेम परिणयमा परिणत हुन्छ। सफलताका सिँढी क्रमशः उक्लँदै उनीहरू शिखरतर्फ लाग्छन्। पत्नी सन्तान हुर्काउँदै संगीत साधना गर्दै जान्छे। अन्ततः पत्नीका लागि संगीत जीवन बन्न पुग्छ। पति संगीतसँगै इर्ष्या गर्न थाल्छ।

संगीतको ज्ञानले सम्पर्क सम्बन्धको सीमा फराकिलो बनायो। छोरीहरू पनि हुर्के। पत्नी बिस्तारै घरबाहिर निस्कन थाल्छे। संगीत कार्यक्रममा भाग लिन थाल्छे। पत्नीको सम्पर्क र सफलताले पतिको कुण्ठा र इर्ष्या बढाउन थाल्छ। बिस्तारै सम्बन्ध चिसिँदै जान्छ। पत्नी विदेशमा संगीत कार्यक्रममा भाग लिन जान थालेपछि पति झन्झन् इखिँदै जान्छ। ऊ रोक्न पनि खोज्दैन, सहन पनि सक्दैन। अनि एक दिन संगीत र स्वामीमध्ये एउटा रोज्नुपर्ने हुन्छ। संगीतसाधिका कुमिकोले पति छोड्ने तर संगीत नछोड्ने निधो गर्छिन्।
यो कुनै कथासार होइन। कुमिको माकिहाराको जीवनको आरम्भिक अध्याय हो। मलाई कुमिकोले नै भनेकी हुन्। पतिको पक्ष स्पष्ट हुन सकेको छैन। हुन त, कुमिकोले पनि पतिलाई खासै दोष दिइनन्। पुरुषप्रधान जापानी समाजमा कुमिकोका पति औसत जापानी पुरुषजस्तै हुन् रे। उनको पतिको पनि स्वास्नी घरभित्रै रहोस् भन्ने ‘मर्द’ को चाहना अधिकांश पुरुषमा जस्तै हो रे। सन् १९९३ मा जापान जाँदा पहिलो भेट भएको हो कुमिकोसँग।

उनका पति संगीत चटक्कै छाडेर बीमा व्यवसाय गर्दारहेछन्, टोकियोबाट धेरै टाढा। वर्षको एक पल्ट पनि भेट हुँदैन रे। कुमिको आफ्नै माइतमा हुर्केका दुई किशोरी छोरी लिएर बस्थिन्। पति टोकियो आउँदा पनि कुमिको घरमा आउँदैनन्। कुमिको पनि पतिगृह जान्नन्। कुमिकोगाथा सुनेपछि लाग्यो – यिनले त्यस पुरुषलाई नभएर संगीतकारलाई प्रेम गरेकी रहिछन्। अर्थात्, पहिले संगीतकार अनिमात्र पुरुषका रूपमा ऊ कुमिकोको प्रेमी हुन पुगेको रहेछ। यसैले कुमिकोले संगीतसँग बिहा गरेकी रहिछन्।

कुमिकोसँग भेट भएपछि हामी सजिलै र छिट्टै साथी बन्न पुग्यौं। दौंतरी भएकाले पनि होला हामी पुराना साथीजस्ता हुन बेर लागेन। म उनको घरमा ‘होम स्टे’ का निम्ति पठाइएको थिएँ। पछि थाहा भयो कुमिकोले नै मलाई भेट नहुँदै छानेकी रहिछन्। पाहुना लाग्न जानुपर्ने दिन निर्धारित समयभन्दा पहिल्यै कुमिको आइपुगिन्। उनीसँग परिचय नहुँदासम्म मलाई लिन कुनै पुरुष आउला कि नारी भन्नेसम्म पनि मैले भेउ पाउन सकेको थिइन। उनले लेखेकी चिठीबाट मैले माकिहाराको लिंग थाहा पाउने कुनै उपाय थिएन। छोटो परिचयपछि मलाई कुमिकोसँग जान भनियो। मलाई कताकता संकोच पनि लागेको थियो। झन् घर पुगेपछि त के भन्नु…। सिंगो घरमा लोग्नेमान्छेका नाममा ममात्रै रहेछु। हुन त कुमिकोका पिता पनि त्यही घरमा बस्थे तर बूढा मान्छे तल्लो तलामा बस्दारहेछन्। एक पटक औपचारिक भेटपछि देखभेटै भएन। अलि अप्ठेरोअप्ठेरो लाग्यो। उपाय के थियो र!

आयोजकले रेलबाटै लैजानु भनेका रहेछन्। स्टेसनबाट दस मिनेटजति हिँड्नुपर्थ्यो उनको घर पुग्न। बाटामा पानी पर्दैरहेछ। हामीसँग छाता पनि थिएन। म निथ्रुक्कै रुजेको थिएँ। उनले लुगा फुकाल्न भनिन् र फेर्नलाई ‘युगाता’ दिइन्। कार्यक्रमको पहिलो दिन हुनाले दौरासुरुवाल लगाएको थिएँ। रुझेपछि त बिजोगै भइगयो नि। फुकाल्न कम्तीमा आधा घन्टा लाग्यो।
भान्सा तयार गर्दागर्दै कुमिकोले आफ्ना’bout बताउन थालिन्। फरासिली र फराकिली रहिछन् कुमिको। आडम्बर र छलकपटविहीन। आत्मीयता बढ्न थाल्यो। युरोप गइसकेकी, चीन आइसकेकी अनि बीचका थुप्रै मलुक घुमिसकेकी। उनको शिष्यमण्डल र प्रशंसकमा पनि थुप्रै विदेशी रहेछन्। कुमिकोको घरमा तीन रात बसेपछि होटल फर्कंदा साह्रै नरमाइलो लाग्यो।

जापान अध्ययन नाम दिइएको कार्यक्रममा म सहभागी भएर त्यहाँ पुगेको थिएँ। जापानको समाज कल्याण कार्यक्रमका विषयमा जानकारी दिइने करिब डेढमहिने अध्ययन भ्रमणमा टोकियो र बाहिरका सहरमा घुमाइन्थ्यो। सामान्य होटलमा हामी छ जना विदेशी सहभागीलाई राखिएको थियो।

टोकियो छँदै कुमिकोले एक दिन मलाई घरमा बोलाइन्। साथीहरूले जिस्क्याए – तेरो ‘डेटिङ’ सुरु भयो। कार्यक्रममा सहभागी पनि दौंतरी नै थिए। तर, उनीहरूका घरबेटी भने सबै पाका परेछन्। यसैले अलिकति उनीहरू मेरो आहरिस पनि गर्थे। कुमिको मलाई लिन आइपुगेको खबर आयो। म औपचारिक लुगामा थिएँ। उनले भनिन्- अलि सजिलो लुगा लगाए हुन्न? कोठामा फर्केर कोट र टाई फुकालेँ। साथीले भन्यो- अब त डेटिङ हो भन्ने पक्का भयो नि। यसपटक पनि हामी रेलबाटै गयौं। कुमिको पहिलो पटकभन्दा धेरै फरासिली भइसकेकी थिइन्। म भने संकोच र उत्सुकताले व्याकुल भइरहेको थिएँ। कुमिकोको घर जाने बाटोमा पुगेपछि मन अलि शान्त भयो – घरमा त कुमिकोकी आमा र छोरीहरू पनि छन् नि। घरमा विशेष जापानी व्यञ्जन बनाइएको रहेछ। कमलको पातमा भात र काँचो माछामा विशेष प्रकारको मसला हालेर बेरेको खाना निकै मिठो लाग्यो। पछि थाहा भयो त्यो खाना अत्यन्त पोसिलो मानिँदोरहेछ। कुराकानीमै आधारात भएपछि मैले होटल फर्कन्छु भनेँ। उनले त्यो रात त्यहीँ बसे हुन्न भनेर सोधिन्। हामीलाई कार्यक्रम आयोजकले राति अबेर भए पनि खबर नगरी होटल छाड्न नहुने नियम सुनाएका थिए। मैले फर्कनैपर्नेमा जोड दिएँ। फर्कंदा उनले कारमा जाऊँ भनिन्। उनको नयाँ कार त्यही बिहानमात्र आइपुगेको रहेछ। नयाँ कारमा यात्रा गर्दाको पहिलो मित्र म हुन पुगेछु।

मध्यरात भइसकेकाले टोकियोमा पनि सडक सुनसान थिए। बाटामा अलि अन्तरंग कुराकानी भए। निजी जीवनका धेरै पक्षमा हामीले अपेक्षाकृत बढी नै खुलेर बतायौं। मेरो होटल आइपुग्यो। लाग्थ्यो, हामी दुवै छुटिनुभन्दा सुनसान सडकमा अनन्तसम्म यात्रा गर्न राजी थियौं।
यसपछिका थुप्रै समय हामीले सँगसँगै बितायो। बिदामा आयोजकका कार्यक्रममा म सकेसम्म सामेल भइन। बरु कुमिकोसँग यत्रतत्र भौंतारिएर दिन बिताउन थालेँ। हामीले टोकियोका सडक र गल्लीमा निरुद्देश्य घुमेर पनि दिन बिताएका थियौँ। उमेर त यसरी भौँतारिन सुहाउने थिएन तर मन किशोरावस्थामा फर्केजस्तो भयो। मोटरमा, रेलमा घुम्यौँ। पैदल हिँड्यौँं, पार्कमा घुम्यौँं, टोकियो टावर चढ्यौं। कन्सर्टमा गयौं। रेस्टुराँहरूमा घन्टौं बितायौं। धेरैजसो कुमिको सोध्ने म जवाफ दिने हुन्थ्यो। कुमिको आफ्ना’bout बताउँथिन् र म तन्मय भएर सुन्थेँ।

जापानमा कुमिको मात्रै त्यस्ती साथी भइन् जोसँग समय बितेकोे थाहै हुँदैनथ्यो। औपचारिकताको सीमा भत्किएको थियो। मलाई टोकियोबाट बिदा गर्न कुमिको सिटी टर्मिनलसम्म आएकी थिइन्। छुट्टिने बेला अँाखा रसाएका थिए। छाती भक्कानिएर बोली बन्द भएको थियो। मैले नारिताबाटै उनलाई टेलिफोन गरेको थिएँ। सिँगै ५०० एनको ‘कार्ड’ सकेको थिएँ। बैंकक आइपुगेपछि चिठी लेखेको थिएँ। काठमाडौं आइपुग्नेबित्तिकै फ्याक्सद्वारा खबर गरेको थिएँ। अचम्म, यस्तो व्यग्रता मैले कसैसँग छुटिँदा पनि अनुभव गरेको छैन। ‘आत्मिक’ अर्थात् प्लेटोनिक प्रेम हो त यो?

कुमिको पनि त्यतिबेला ४१-४२ वर्षकी थिइन्। जेठी छोरी कलेजमा र कान्छी हाइस्कुलमा पढ्थे। कुमिको ‘कोतो’ नामको जापानी तारबाजा बजाउन सिकाउँछिन्। जापान र विदेशमा पनि कार्यक्रम गर्छिन्। नेपाल पनि तीनपटक आइसकेकी छन्। कुमिको घरपालुवा जनावरलाई धेरै माया गर्छिन्। घरमा कुकुर र बिरालो पालेकी छन्। चित्रकलाको सोख छ।

संगीत त उनको जीवन नै भयो। परोपकारका काममा पनि समय दिन्छिन्। फूल मन पराउँछिन्। कुमिको उमेर पेसा, पारिवारिक अवस्था र उसको सामाजिक अवस्थाका तुलनामा अत्यन्त सरल छिन्। आफूले भोगेको भए पनि पुरुषप्रधानताप्रति उनले कहिल्यै विद्वेष प्रकट गरिनन्। व्यावहारिक जीवनमा जसरी बाँचेकी छन् त्यो उनको आदर्श पनि होला तर कहिल्यै भनिनन्। पछिल्लो पटक २००५ मा जापानमै हाम्रो छोटो भेट भएको थियो। त्यति बेला हामी धेरै बोलेनौ। एकअर्काको अनुहारमा हेरिरह्यौं। त्यहाँ भेटिएको बुढ्यौलीको छापले अलिकति खल्लो लागेको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: