इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

हरि मानन्धर “विवश”

हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी युद्धलाई मात्र दोष थुपार्नु पनि त होइन, विशेष रूपमा त गरिव राष्ट्रका जनताहरू विदेश गएर नकमाए जहान परिवार कसरी पाल्ने? भन्ने सवाल सदा ठिङ्ग उभिरहेकै कुरा हो । बाजे बराजुको पालादेखि नै गाउँघरदेखि शहरसम्मका केहि मानिसहरू विदेशका नाममा अरवका खाडीहरूमा, यूरोप, अमेरिका, ब्रटिश तथा क्यानडाहरूमा समेत नपसेका होइनन् तर त्यतिबेलाको कुरा भिन्दै थियो । दोश्रो विश्वयुद्धमा अपहरण गरेर भारत लगेर भर्ती गरिएका र पछि ब्रिटिश पल्टनमा परेर पेन्सन खाइरहेका तर जन्मदै उसका खुट्टाको उचाई नमिलेका व्यक्ति सिरानघरे बाजे अहिले हाम्रै अगाडि ब्रिटिस पेन्सनमा मख्ख छन् । क्याक्मीको ९ बहिरानीका कान फर्केका ढेँगा भनिने पनि उस्तै त थिए । जब उनीहरूलाई दोश्रो विश्वयुद्धमा मान्छे मार्नु थियो त्यतिबेला भर्ती गर्न कुनै नापतौल गर्नु परेको थिएन र त सबै गोठालो जाँदा होस् वा खेतबारी जोत्न जाँदा, एकाएक विस्थापित पारिए अनि लगिए भारत र पठाइए इन्डोनेशिय, फिलिपिन्स, मलेशिया जस्ता जापान र जर्मनको विरूद्धमा बलीका बोकाहरूलाई जस्तै ।
मलाई अहिले तिनै कुराहरूले दिनरात सताई रहन्छ । मानिसको बुद्धि नभएर के भो त? सुशाषण राम्रो हुनसके जन्मदै अपाङ्ग जन्मिएता पनि राष्ट्रका लागि मात्र नभएर विदेशीहरूको अगाडि घुँडा टेकेनन् ! उनीहरू दोश्रो विश्वयुद्ध जितेर, अहिले विदेशीकै पेन्सनमा रमाईरहेछन् । तर त्यसैताका अब यिनीहरूले हामीलाई लैजान्छ भनेर डराएर बस्नेहरूलाई अहिले जीउ पाल्न गाह्रो भैरहेको छ ।
गाजायुद्धको शुरूवात
डिसेम्बर २७, २००८, बेलुका सबैसँग खाना खाएर छुट्टिएँ । राति करीव ११ बजेतिर आकाशमा हेलिकोप्टरको आवाज आयो । कतै कतै गाउँघरतिर रातमा बाँसहरू पड्के जसरी आवाज आयो । फेरि युद्ध छेडिने होकि भनेर मन डराईरह्यो । अकस्मात आकाशमा उडेका लडाकु हेलिकोप्टरहरूले गाँजामाथि बम बर्साउन शुरू गरेछ । घरका शिशाहरू नै फुट्ने हुन् कि जस्तो गरेर हल्लिन थाल्यो । गृहयुद्धको चपेटामा परिरहेको देशलाई छाडेर आएको भए पनि मलाई युद्धसँग कुनै सहमत र अनुभव नै छैन । करीव १० मिनेट जति लगातार बमहरू बज्रिरहे । घरको तल्लो तलामा भएको खतराको सँकेतार्थ बज्ने र बम कहाँ खसेको हो भनेर सूचना दिने मेशिन चुपचाप निदाईरहेको थियो । कुनै साइरन नआए पछि मलाई झन झन डर लाग्न थालेको थियो । रातै भरि निन्द्रा परेन । विहानपख कतिबेला निदाएछु एक्कासी करीव ८ बजे तिर मात्रे ब्यूँझे । जब म ब्यूँझे मेरो बस्तीका सबै मान्छेहरू भेला भइरहेका थिए । म पनि लुसुक्क उतैतिर लागे । सबै भन्दै थियो डराउनु पर्दैन यो हाम्रै हो ।
हतार हतार घरमा फर्के । अलि अबेर भैसकेकाले मेरो विहानीका कामहरू बाँकी नै थिए । इजरायलमा डलर टिप्न आएको म, हतार हतार काम सकेर स्लोमोलाई लिएर गएको थिए, मादोनतिर । मादोन नपुग्दैदेखि मानिसहरूको चहलपहल बढि नै थियो । सबैजना मानिसहरू दोश्रो विश्वयुद्धको भयावह अवस्था सम्झँदै होलान यतिबेला,, र त चुपचाप मन गह्रुङ्गो पार्दै, आफुले आफैलाई सम्झाउँदै पाइला गन्दै हिडिरहेको अनुमान लगाएँ मैले पनि सजिलै । जब म सधै जाने मादोनमा पुग्छु, त्यहाँको माहौल नै अर्कै थियो । सधैभरि सजार्इएका खानेबस्ने टेबलहरू, शिशाका झ्यालहरूदेखि टाढा बीचमा राखिएको थियो । सबै मानिसहरू सधैँ जसोरी कुराकानी गर्ने, ऐतिहाँसिक पुरानो बाइबलिक कहानीहरू सुनाउने, वा गीत मनोरञ्जन गर्ने कुनै सँकेत नै थिएन । विश्वयुद्ध खेपेर पनि पार लगाएर यहाँसम्म आएका डायस्पोरिक यहुदीहरूको त डरले ओँठमुख सुकेको छ भने म नेपालबाट आएको, युद्ध नदेखेको मान्छेको के के सुके सुके । विहानै जब समाचारहरू सम्प्रेषण भए, रेडियो टिभीहरूले गतरातमा प्यालेष्टाइनहरू करीव २०० देखि २५५ को बीचमा मारिएका जानकारी सुनाउँथ्यो,, पटक पटक । अनि यहुदीहरूमा केहि खुशी भरिन्थे तर मलाई भने पोलिरहन्थ्यो । छिमेकी मर्दा रमाउने कस्ता जात रहेछन् यहुदीहरू भनेर कतिञ्जेलसम्म त एक्लै घोरिएर बसेँ । पुनः जब जब आकाशबाट बमबारी हुन्थ्यो, घरका भित्तामा राखिएका सँकेत जनाउने मेशिनले साइरन नबजाएपछि यहुदीहरू खुशीले उफ्रन्थे र भन्थे, यो हाम्रो आक्रमण हो । प्यालेष्टाइनमाथिको हाम्रो विजय हो ।

दिनहरू त जसोतसो साथीभार्इहरूसँग बसेर बिताउने भएकाले त्यति गाह्रो भएको थिएन तर जब रात पर्दै जान्थ्यो त्यो दुबैतिर भएका शिशे झ्यालहरू थररर थर्कँदै बजेका आवाजहरूसँग मलाई स्वास फेर्न पनि गाह्रो हुन्थ्यो । अर्को रात शुरू भैसकेको थियो । आकाशमा हेलिकोप्टरहरूले लडाईका लागि उडान भरिरहेकै थिए । हरेक दिनको आफ्ना कामहरू पछाडि परिरेहेका थिए । रातमा इजरायलले बर्सेका बमबारीको प्रतिउत्तरमा गाँजाबाट पनि तीब्र रूपमा इजरायलतिर नयाँ क्वसेम रकेटहरू र लञ्चरहरू बजारिन थालिसकेका थिए । यी नयाँ खालका रकेटहरू गाँजाबाट प्रहार गर्दा इजरायलको अस्केलोन र आस्दोदसम्म पुग्नसक्ने क्षमताका थिए रे !
घरको सँकेत दिने मेशीनले साइरन बजाउदै कहिले ५ किमी पर, कहिले २ किमी पर भन्दै सूचना सम्प्रेषण गरिरहेको थियो । म मनमनले अति डराउँथे तर कुनै सावधानीपूर्ण बचाव थिएन मसँग त्यतिबेला । त्यो रात पनि डरत्रासमै अनिदो भैरहेको थियो तर कति बृला भुसुक्क निदाएछु, थाहै भएनछ, एक्कासी बिहानै बमको आवाजले निन्द्रा भंग भयो । करीव ५ रेक्टरको भूर्इचालो भन्दा कम थिएन । पुरै घर हल्लिएर भत्किने हो कि भन्ने डरले छिटो छिटो भूर्इँतलामा झरेँ । भूर्इतलामा गाजाका बमहरू नजिक एरिया तिर आउँदैछ भने घण्टी बजेर बंकरतिर भाग्ने समय जनाइरहन्छ, त्यस मेशीनमा हेरेँ,, मेरै इलाकामा खसेको रहेछ । मेरो बस्ती भित्रै करीव ५०० मिटरको एरियाको अनुमानित तथ्याङ्क पो देखाईरहेको थियो त? मन डराएर काम्न थाल्यो । तर बच्न त बाँचिहाले अब चाहि घण्टी बज्नासाथ बंकरमा देोडिनुपर्ला भन्ने सोच बनाए ।
इजरायल गाजा युद्धको लामो समय पार भैसक्दा पनि कहिल्यै मिलेमतो थिएन । मैले पहिले पनि तेलअभिभमा कार बम बिस्फोट भो रे! १५० मरे रे ! भन्ने समाचारहरू नेपालमा हुँदा नै विविसी, सिएनएन तथा नेपाली टिभी च्यानेलहरूलेसमेत देखाएका कुराहरू थाहा थियो । विशेष गरि सन २००६मा, म इजरायल आउनका लागि पासपोर्ट बुझाएर हिब्रु भाषाको ट्रेनिङ लिँदै गर्दा पनि इजरायलमा लेवननसँगको लामो युद्ध चर्किएको खबर नसुनेको होइन । लेवननमा मारिएका थुप्रै मानव शरीरहरूको थुप्रो नदेखेको पनि होइन । तर इजरायलको डलरको मोहले मलाई यसरी तानिरह्यो कि ज्यानको समेत प्रवाह भएन । तर त्यतिबेला जब म गाजाको ४ किमी दुरीमा रहेको बस्तीमा काम गर्दै थिए, अचानक शुरू भएको त्यो युद्धले मन मस्तिष्क उथुलपुथुल पारिरहेको थियो । फर्कन पनि सकिदैनथ्यो,, बस्न पनि मरिने पो हो कि,, भन्ने डरले मन नै अत्तालिन्थ्यो ।
जनवरी ३, २००९ इजरायलले हजारौ इजरायली स्थल ट्यांकरहरू र स्थलसेनालाई पछाडि राखेर अन्धाधुन्धा हवाई आक्रमण, जमिनबाटै गाँजाका मुख्य घरहरू, मस्जिदहरू वा अन्य मुख्य सरकारी कार्यलायहरूमाथि लामो दुरीका रकेट लञ्चरहरू बर्साएर ध्वस्त बनाउँदै थियो । इजरायलले यस आक्रमणलाई दोश्रो चरणको ‘अपरेशन कास्ट लीड’ नामांकन गरेका थिए । उक्त दोश्रो चरणको आक्रमणको शुरूवाती दिनमा ३० जना जति रक्षात्मक लडाईँमा इजरायली सेनाहरू घाइते भएका थिए भन्ने सनिन्थ्यो । दोश्रो चरणको यस युद्धमा इजरायलीहरूले गाँजालाई इजरायली सेनाहरूले गाजापट्टीलाई द्विविभाजित गरेको र गाजाका शहरहरूलाई घेरेसकिएको भन्ने खबर प्रसारण गरिरहेको थियो । गाजाका मुख्य शहर भनिने बाइत लाहिया, बाइत हनुन र जाबालियाका नजिक इजरायली सेनाहरू पुगेको खबर सुनियो ।
जनवरी ५, २००९, जति जति दिनहरू बित्दै गए, उति उति इजरायलको आक्रमण बढ्दै गईरहेको थियो । आजसम्ममा मर्ने प्यालेष्टाइनहरूको सँख्या करिव करिव ५२४ र आक्रमणमा परि घाइते हुनेहरू २६०० पुगिसेकको थियो । इजरायलले अपरेशन कास्ट लिड नामक युद्ध छेडेको करिव १० दिन वित्दै गर्दा करीव २०० जना त सिभिलियनहरू परेको कुरा युनाईटेट नेशन्सको अफिसियलहरूले बताईरहेका थिए । यता गाजाको आक्रमणबाट आस्केलोनमा तीन जना सर्वसाधारणको मृत्यु भएको थियो भने एकजना इजरायली आर्मी युद्धमै मरेको तथा ३० सर्वसाधारण धाइते भएको समाचार थियो । यति धेरै गाजाबासीहरूको मृत्यु हुँदासम्म पनि गाजाका आक्रमणकारी हमास भनाउँदाहरू अझै इजरायलसँग कडा प्रतिस्पर्धामा उत्रने सँकेत देखाईरहेका दिए प्यालेष्टाइनहरू । उता इजरायलको समर्थक २४ दिन बाँकी रहेको बुश प्रशासन, आउदै गरेको ओबमा एडमिनिस्ट्रेशन, गाँजामा शान्तिका लागि आएका यूएन अधिकारीहरूको युद्धविरामका लागि बोलाएको भोटिङमा अवरूद्ध भैरहेको मेडियाहरूले बताईरहेका थिए ।
जनवरी ६, २००९ इजरायली सेनाद्वारा गरिएको मोर्टार रकेट गाजाबाट रकेट प्रहार गरिएको विरूद्धमा भन्दै यूएनद्वारा सञ्चालित स्कूलमा खसालिए । जहाँ सैयौँ प्यालेष्टेनियन सर्वसाधारणहरूले सेल्टरको रूपमा प्रयोग गरेका थिए । उक्त आक्रमणमा करिव ४० सर्वसाधारण मरेको यूएनको रिपोर्ट थियो । यसरी स्कूलमा इजरायलले बमबारी गरेका कारण इजरायलले विश्वभरबाट ठूलो निन्दा खेप्नु परेको पिन थियो । तर इजरायलले भने हमासले त्यहि एरियाबाट रकेट लञ्चर फालेकाले हामीले त्यसको विरूद्धको कारवाहीमा स्कूलमा बम खस्न पुगेको भन्दै पब्लिकको दृष्टिहरूमा औचित्य जनाउँदै थियो
जनवरी ८, २००९, लेवननका आतंककारी भनिने हिजबुल्ला सँगठनले इजरायलको विरूद्धमा रकेट लञ्चर प्रक्षेपण गरेको थियो । जस्लाई इजरायलको विरूद्धमा दोश्रो सँगठनबाट नयाँ आक्रमण भनेर अनुमानित सम्भावना बताईएको थियो ।
जनवरी ११, २००९ दक्षिणी गाजा शहरको एक घना बस्ती भएको क्षेत्रमा इजरायली लडाकु ट्यांकरहरूलाई गाजाको धकेलियो । जहाँ इजरायली तथा हमास लडाकूहरूले सडक ’round अपरम्परागत विषम युद्ध गराउनका लागि घरघरमा वा गल्ली गल्लीहरूमा तम्तैयार देखिएका थिए भनेर समाचारमा सुनिन्थ्यो ।
जनवरी १७, २००९, इजरायलले हमासकोसाथ युद्धविरामको मञ्जुरी विना नै एकतर्फी युद्धविरामको घोषणा गरेको थियो ।
जनवरी १८, २००९, हमास, इस्लामिक जिहाद र अरू प्यालेष्टेनियन मिलिटिया समूहहरूले इजरायल माथि रकेट प्रहारका लागि एक हप्ता बन्द गर्ने घोषणा गरेको थियो । तर यतिबेला इजरायलले गाजापट्टीबाट सम्पूर्ण सेना तथा लडाकु ट्यांकरहरू खाली गर्नुपर्ने माग राखेको थियो ।

यतिबेलासम्म इजरायलको बेरसेवा, गेदेरा र आस्दोदमा गाजापट्टीद्वारा खसालिएका बमहरू क्षतिजनक रहेका थिए । गाजाद्वारा इजरायलमा १०२ रकेट र ३५ मोर्टार खसालिएको हमासका प्रमुख फताहद्वारा विज्ञप्तिमा जनाइएको थियो भने इजरायलबाट गाजा विरूद्ध करीव ५६५ रकेट र २०० मोर्टार प्रहार गरिएको इजरायली सेना प्रमुखको बिज्ञप्तिमा जनाईएको थियो ।
यतिबेलासम्म इजरायलबाट गरिएको आक्रमणमा परि मृत्यु हुने प्यालेष्टेनियन तथा सर्वसाधारण गरि १४१७ जना पुगेको, जस्मा ३१३ जना अवोध बालबालिकाहरूको मृत्यु भएको थियो भने गाजाको आक्रमणमा परि जम्मा १३ जना इजरायली सेना तथा सर्वसाधारण मरेको समाचार सुनिएको थियो ।
करिव ३ हप्तासम्म चलेको गाजा इजरायल युद्ध मेरा लागि अवस्मरणीय बनेर रह्यो । रातका सन्नाटाहरूमा इजरायलले गरेको बमको आवाज होस या गाँजाबाट इजरायलमाथि गरिएको बमको, कानमा पर्नासाथ एक खालको डर, त्रास पैदा हुन्थ्यो मन भित्रैबाट । दिनहरू वित्दै गए पछि बमका आवाजहरू पनि सामान्य बन्दै जाँदा रहेछन्, आफै अनुभव गरेँ । मेरो बस्ती छिर्ने एकमात्र गेट थियो । उक्त गेटबाहेक चारैतिर तारजाली लगाईएको थियो । गेटको दायाँतिर अगाडि सडक भएकाले भित्रका घरहरू नदेखियोस् भनेर करीव ३ मिटर जति अग्ला माटोका थुम्का, भिरालो गरि उठाइएको थियो । देशविदेशका समाचार सम्प्रेषकहरू लामा दुरीका दुरवीनदेखि अत्याधुनिक भिडियो क्यामेराहरू गाँजातिर फर्काएर समाचारहरू सम्प्रेषण गरिरहेका थिए । मलाई पनि गाँजामा खसालिएका बमहरूले माथि आकाशमा विभिन्न आकृतिमा परिवर्तन भएका धुवाँका मुस्लाहरू हेर्ने रहरले दिउँसो तिर गेटतिर निस्केर एकतमास हेरिरहन्थे । अनौठो खालका आकृतिहरू देखिन्थे । अनुमान लगाउँथे, उ त्यो चाहि रूख जस्तै छ, उ त्यो चाहि खाने च्याउ जस्तै छ । अझै त्यो आस्कोलोन माथिको आकाशमा देखिएको त झन कस्तो छाता जस्तै । होइन अझ यो हाम्रो माथिसम्म फैलिएको त अचम्मको आकृति छ, कुनै शिल्पकार वा कलाकारले आकृति बनाए जस्तै । आदि इत्यादि कुराहरू मनमा खेलाएर करीव एक डेढ घण्टा बिताउँथे । केहि मेरो बस्तीका इजरायली साथीहरूले त हाम्रो आमाको घरको छतबाट सबै देखिन्छ,, हेर्न जाउँ पनि भन्थे । तर मलाई मेरो बस्तीको गेटबाट देखिएको बमका धुवाँहरू नै रमाइलो लाग्थ्यो र त्यहिबाट हेरिरहन्थे ।
कति रातहरू अनिँदा बिते, कति रातहरू मृत्युका डरमा विते । कहिलेकाँही त मरिहाले त केहि थिएन घाइते भएर खुट्टा नहुने, हात नहुने भएर बाँच्नुपर्यो भने भनेर आङ् नै सिरिङ्ग हुन्थ्यो । आजभोलि पनि त्यस्ता कहिलेकाँही आकाशमा हेलिकोप्टरहरू उडेको देखेँ भने मलाई त्यहि युद्ध र उक्त युद्धले दिएको डर त्रास र भयावह स्थितिको यादले मन चसक्क हुन्छ ।
नेपालमा सुनेका लडाईहरू यहाँ आँखाले प्रत्यक्ष देख्न पाउँदा अचम्मको सिमा नै रहेन । समाचारमा गाजापट्टीबाट शरणार्थीहरू खाली गर्ने, प्रहरीहरूले लखेट्ने, इजरायलले आक्रमण गर्ने जस्ता खबरहरू नेपालमै हुँदा सुनेको थिए र अचम्म लाग्थ्यो साँच्चै कस्तो होला इजरायल ! कस्तो होला गाँजा ! भनेर मन भरि कौतुहलताका बाढी आईरहन्थे । तर गाँजाको बोर्डरसम्म पुगेर गाँजाका घरहरू नियालेको छु, इजरायलको बाहिरी मुटु छामेको छु । र पनि अझै कौतुहलता पूर्णरूपमा शान्त भएको छैन र यो कहिल्यै हुँदैन पनि । किनकी यो म भित्रको मानवियता बोलेको हो र इजरायल र गाँजाको सम्बन्ध मानवीयतामा मात्र सिमित पक्कै छैन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: