नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

लेखक योगेन्द्र उपाध्याय÷पुष्प

गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका छन् र हामी आज भन्दा भोली र भोली भन्दा पर्सि झनै गाडिंदै गइरहेका छौं । त्यसैले आज लाग्छ डेमोक्रेसीको नाममा नेता (ले दे मोह कुर्सी) भन्दै जनतासँग मात्र कुर्सी मागिरहेका छन् र गणतन्त्रको प्रलोभन देखाएर नेपालीमाथि गाडतन्त्र अपनाइरहेका छन् ।
प्रजातन्त्र र प्रजातन्त्रको चुनाव अनि मेरा आशाहरु ।
प्रजातन्त्र भनेको मैले के बुझ्नु ? र यिनीहरु के बुझाउन चाहन्छन् ? भाषणमा प्रजातन्त्र ! नारामा प्रजातन्त्र ! केहि अनौठो लाग्यो मलाई आखिर हो के त यो प्रजातन्त्र ? एकजना महान व्यक्तिसँग मौका मिलाएर सोधें आखिर हो के प्रजातन्त्र ? वहाँको जवाफ थियो – राज्यभार जनतामा आउनु प्रजातन्त्र हो । मेरो खुट्टाले ठाँउ छोड्यो सोंचे – गाउँमा बाटो बनाउँला, मेरी बिमारी आमाको लागी गाउँमै उपचार केन्द्र बनाउँला, कति बाल्नु यो दियो बिजुली ल्याउँला,…………… यति सोँच्दा सोँच्दै पुगें जिन्दाबाद र मुर्दाबादको हुलमा जिन्दाबाद पनि भन्दिएँ मुर्दाबाद पनि भन्दिएँ, जे जे भन्न भन्थे त्यै त्यै भन्दिएँ यत्तिकैमा केहि तातो बस्तुले मेरो पाखुरा छेँड्यो होस आउँदा म शहरको अस्पतालमा ! नर्सहरुको गाईँगुईँ सुन्न मेरा कान च्यातिए उनीहरु भन्दै थिए देशमा प्रजातन्त्र आयो । म पनि खुशी भएँ ओहो ! केक्कानै आयो हाम्रो देशमा । पछि डाक्टर साब आएर मलाई भन्नुभयो – भाइ तपाँइको अहिलेसम्मको अस्पताल चार्ज पचहत्तर हजार पुगेको छ । तपाँइकि श्रीमतिले घर बेचेर बिस हजार मात्र दिनुभयो । अरु पचास हजार कहिले दिनुहुनछ ? नदिएसम्म डिस्चार्ज गर्न मिल्दैन । त्यसपछि त म झसँग भएँ । अनि भएँ सुकुम्बासी ! म के बुझुँ यो प्रजातन्त्र भनेको प्रजामा आउने सत्ता वा सत्ता पाए पछि नेताले जनतामा अपनाउने पर जा तन्त्र ! मैले त यहि बुझेँ यो पार्टि भनेको पनि पाटि हैछ जसको सँगत परेपछि पाटिको बास !
यसपछि हाम्रो सुकुम्बासी बस्तीमा नयाँ हल्ला चल्न थाल्यो बिषय थियो – चुनाव ! हान्नीएर पुगेँ हाम्रो गाँउको गाई चर्ने चौरमा जहाँ हाम्रो गाँउको एकमात्र बाह््रखरी जान्ने रामे हात मुढ्की पारेर चिच्याउँदै थियो – यदि मैले जितेँ भने यो गर्दिन्छु, त्यो गर्दिन्छु । उसले भनेका चिजहरु मैले मेरो कल्पनामा जोड्दै गएँ र एस्सो हेरेँ मेरो कल्पनामा मेरो बस्ती दन्त्यकथाको शहर झैँ थियो, देवताको स्वर्ग झैँ थियो, सिँगारीएको थियो, थिएन त मात्र भोक र शोक ! मैले पनि जिताइदिएँ त्यसैको घर चिन्हमा स्वस्तिक हानेर, उसले ठुलो भाषण गरेर आफुलाई चिताए पनि उसको विजयमा मैले उत्सव मनाएँ त्यसरी नै जसरी मेरो जीतमा मनाउँथे । माला उसको घाँटिमा भएपनि म सम्मानित हुदै थिए, सिन्दुर जात्रामा उसले अबिर लगाए पनि उसको निधारमा भन्दा मेरा निधारमा आशाका रँग गाढा थिए । उ जितेर शहर गयो र पुनः एकदिन गाँउमा आयो र हाम्रा समस्याहरु र समाधानहरु कागजमा लेख्न थाल्यो । बोलीमा सिमीत हाम्रा समस्याका समाधान आज कागजमा उतारीए भने भोेली कसो बस्तीमा नउत्रला ! यहि ठानी सम्पूर्ण बस्तीले फेरी अर्को पटक पूर्ण आशाका साथ उसलाई शहर पठायौँ । त्यसपछि हामीले कुर्न थाल्यौँ तर उ एक महिना, दुई महिना, एक बर्ष,……….. चार बर्षसम्म पनि गाँउमा आएन । सपनाको झीनो त्यान्द्रो बाँकि थियो । त्यहि बोकेर उसलाई भेट्न शहर पु््ग्यौँ, शहरको मन्त्रालय पुग्यौँ चार पाँच जना गाँउका भद्र भलाद्मीहरु । उ परबाट चिल्लो गाडिमा आएर हाम्रो सामुने उभियो । वाह रामे ! गाँउको थोत्रो शर्ट हुर्याएर उसले नयाँ शर्ट र पाइन्ट लगाएको थियो । पसिनाको गन्ध आउने उसको शरिर फुलभन्दा बढि बास्नादार भएको थाहा पाउँदा म अचम्म पनि परेँ । हाम्रो गाँउको इजेत त राख्यो यसले ! हाम्ले हाम्रो समस्या सुनायौँ, उसले सुन्यो पनि र त्यहिँको पुलीसजस्तो मान्छेलाई – आई डन्ट नो देम र के के फट्याङ्गफुटुङ्ग पनि गर्यो । ओहो ! उसले अँग्रजीमा हाम्रो गाँउको बिकाश गर्न पो भन्यो कि क्याहो । शहर आएर गाँउ बिर्सेको मात्र रहेछ रामेले गाँउको माया त अझै पनि उसमा पहिले झैँ ज रहेछ । यत्ति सोँच्न मात्र के भ्याएका थियौँ । उ ढोका भित्र छिर्यो र पश्चात् पुलीसका मोटा मोटा लौरा पो हामीमाथि बर्सन थाले । अरे ! गाँउको विकास गर्न भनेर गरेको चुनाव त यिनीहरुले शहरको घर चुनेर लिन पाउने चुनाव पो रहेछ त ! बल्लै थाहा पाइयो ! लौरा खाँदा खाँदा टाउको पनि बग्न थाल्यो । भागेर अलि पर पुगी मन्त्रालय हेर्न टाउको उचालँे शिरको टोपी भुइमा खस्यो । यो मन्त्रालय भनेको पनि हामीलाई मन्त्रमुग्ध पारी हाम्रो घरको ईँट ल्याएर बनाएको आलय रहेछ जहाँबाट ठूला ठूला घर मात्र देखिन्छ । हामी जस्ता गरीबका घर हेर्न लाग्दा त ठूलै घरले छेकिने ! हामी त्यान्द्रो पनि फालेर गाँउ फक्र्यौ । दुई महिना पश्चात् रेडियो फलाक्दै थियो पर्सि क गाँउको सुकुम्बासी बस्तीमा वरिष्ठ समाजसेवी नेता राम प्रसाद वि.क. चुनावी भाषण गर्न जाने कार्यक्रम छ । जान्न मत अब भाषन साषन सुन्न बरु भारी बोके दश रुपीयाँ त कमाइन्छ ।
द्धन्द्धकाल, मिलीजुली सरकार अनि मेरा आशाहरु ।
अब हाम्रो गाउमा पट्याङ्ग र पुटुङ्ग पड्कने लौराहरु लिएर मान्छेहरु आउन थाले । हेर्दा उनीहरु देशको लागि बनाइएका पहरेदार जस्तै । एकदिन उनीहरुले हाम्रो गाँउमा जनचेतना जगाउने भन्न थाले । अहो ! यिनले केहि गर्छन् । भाषण नगर्ने जनचेतना नगाउने ! अब त हामी पनि सचेत हुने भयौँ । मेरो हर्षको सीमा रहेन । पुगेँ हर्केको घरमा दौडिएर जनचेतना सुन्न । एक जना भलाद्मी पाखुरी सुर्कँदै चिच्याइरहेका थिए, नेताहरुले हाम्रो देश खोक्रो पारिदिए, यो हटाएर त्यो गराउनपर्छ, त्यो आएमा तेस्तो हुन्छ अनि यस्ती भ्रष्ट र नराम्रो देश त्यति सभ्य र राम्रो बन्छ । नेता शब्द सुन्नासाथ मेरो रगत उम्लिएर आयो । तेल्ले हाम्रो गाउँको विकास नगरे के भो त ? अब हामी गर्छौ विकास अनि उसको कठालो समातेर उसलाई देखाउनेछौँ हाम्रो सुन्दर बस्ती ! हाम्रो नारा थियो आमूल परिवर्तन गर्नै पर्छ ! ! नयाँ नेपाल बन्नै पर्छ ! ! नारा घोक्दा घोक्दै एकछि गमेर सोँचे आमूल परिवर्तन भनेको त पक्कै पनि हाम्रा जगरहितका झुपडिहरुमा पनि मजबुत जग यानि मूल अर्थात जग बनाइने होला, आमूल परिवर्तन भनेको गाँउको जमिन्दार गरिब र गाउँका गरिब सम्पन्न बन्ने होला ! अहो ! आमूल परिवर्तन भनेको मजबुत जरा सहितको बृक्षसरी हाम्रो बस्ती हुने होला ! टन्न रुखमा फुल फुल्लान, फल लाग्लान् । जिब्रो नै रसाउन थाल्यो अब त मेरो । भुन्टे कि आमालाई पनि भन्दिएँ मैले आमूल परिवर्तन हुने कुरा । उ पनि खिसीक्क पहेँला दाँत देखाएर हाँसी । उ वर्षौ पछि यसरी हाँसेकी थिई नत्र उ मसँग बिहे गरेदेखि रोएको रोयै छ । चिन्ता नगर प्राण प्यारी ! यो हाँसोको सुरुवात हो दुखका दिन गए अब ।
हामीले टिरेनिङ्ग लिन थाल्यौँ । पड्कने डल्ला फ्याँक्यौ । पड्कने लट्ठा त कस्ता अचम्मका आकाशमा उडेका सेता परेवालाई पनि ठ्याँइँय हानेर भुँइमा झराल्न सकिने ! हामीलाई आमूल परिवर्तन गरेर नयाँ नेपालको पदार्पण गराउनु थियो । हान्यौँ बुढा पुराना सोँच भएका नयाँ तथा बुढा पुराना मान्छेहरुका छातिमा तातो फलामको मोटो सीयो । पुलहरु प्नि चर्केका रहेछन्, नयाँ र ठूलो बनाउन भत्काइदियौँ, भत्किए पनि के त ? नयाँ पुल बनाउनु थियो हामीलाई । पुराना र लेउ लागेका घरहरु पनि भत्काइदियौँ ठ्याँइठ्याँइ र ठुइँठुइँ, ड्यामड्याम र डुमडुम गराएर आखिर नयाँ बन्ने वाला नै त थिए । पुराना यी भवन र पुल एवँ गाडिहरु को के गर्ने हाम्ले ब्रेक पनि हण्डिल पनि राम्रा नभएका गाडिहरु । रामेले नेतृत्व गरेको देश झैँ । कोणसभा गरेर पिलानिङ्ग गर्दै सब दश वर्ष भन्दा पुराना चिज भत्काइदियौँ । बालै भएन ! पुराना चिज भत्केपछि नयाँ कसो नबन्लान् । यहि आशामा खुला आकाशको छानामुनी रहेको मेरो बस्ती र घर भित्र प्रतिक्षारत रहेँ । स्मरणीय रहोस् ! पुरानो भएकाले मेरो घर पनि मैले भत्काइदिएको थिए र बस्ती पनि । दुइ महिना कुरेँ, तीन महिना कुरेँ, छ महिना पुग्दा पनि न नयाँ घर बनाइयो न नयाँ पुल नै । बनाउनु त परै जाओस् सुरुवातसम्म पनि भएन । पक्कै पनि ती भलाद्मीले हाम्रो मात्र गाँउ बिर्से होलान् । नेपाल कति ठूलो छ र कति पुराना चिज भत्केका छन् । सबै नयाँ बनाउँदा हाम्रो गाउँ मात्र छुट्न पुग्यो होला ! याद आएन होला ! ठानी गाँउका पञ्च सहित हानीयौ काठमाण्डौको खाल्टोतिर, उनिसँग खैके टार भन्ने ठाँउमा निक्कै मुस्किलले भेट भयो विचरा ! यत्रो काम व्यस्त पनि त होलान् नि ! उहाँलाई हाम्रो समस्याहरु लहरै सुनायौँ । उहाँको भनाइ थियो हामीलाई कुर्सी पुगेको छैन, कुर्सी पाएपछि तपाईँको गाँउ राम्रो बन्छ । हत्तेरिका ! कुरा त्यस्तो पो रहेछ ! बिचरा ! हो पनि बसेर कुरा गर्न कुर्सी नै नपाएपछि तिनले हाम्रो समस्या कसलाई भन्ने र कसरी समाधान हुने । गाँउ जस्तो हैन क्यार ! सुकुलमा बसेर कुरा गर्नु, यहाँ त कुर्सि पो चाहिन्छ त ! हामी गाँउ फक्र्यौ, पञ्चले साल र सिसौका चार पाँच वटा कुर्सी बनाएर धेरै खर्च हुन्छ आउँदा जाँदा भनी मलाई मात्र काठमाण्डौ पुनः पठाए । म फेरी वहाँलाई भेटेर कुर्सी दिँदै भने – लौ लिनुस् यो कुर्सी सालको हो एकदम बलियो छ । २ जना बसेपनि भाँचिन्न । अब यसमा बसेर हाम्रो समस्या समाधान गर्नुस् । वहाँको जवाफ थियो – कस्ता अनएजुकेटेड र गँवार छन् नेपाली । चीनमा र रुसमा त यस्तो छैन । फेरी वहाँले मेरो पीठमा धाप मार्दै भन्नुभयो – दाई कुसी भनेको शहरमा आएपछि सत्ता भन्ने बुझीन्छ र मैले सत्ताको कुरा गरेको सालका कुर्सीको हैन । यति मात्र भनेर वहाँ ४–५ जनाको दलबल सहित कारमा सुइँकिनु भो । हे प्रभु गाँउ राम्रो बनाउन पनि के के चाहिने हो के के ? म पनि कस्तो बुद्धु कुर्सीको वास्तविक अर्थ अर्कै पो रैछ त ! यीनीहरुलाई अर्कैै चिज पो चाइया रैछ त ! बिचरा ! अब सत्ता पनि ल्याइदिन्छु अनि केहि गर्लान् नि ! तर आखिर सत्ता भनेको हो के त ? यहि प्रश्न हातमा कलम लिएर बसेका एकजनासँग सोधें । उनले यस्तो जवाफ दिए – यी मान्छेका आफन्त र हितैसीहरु नेता हुन पाएनन् अरे ! त्यसैले दिनरात यहाँ आउँदै झगडा गर्दै गर्छन्, आफ्नो मान्छे नेता हुनुलाई सत्ता भनिन्छ, तपाईँको घर कहाँ हो ? उनी सोध्दै थिए तर १२ बजे दिउसो मैले देखेका तारामा मात्र मेरा ध्यान गए उनको बोलीको जवाफै नदिइ तिर्मीराउँदै हिँडे । यीनी पनि रामे झैँ रैछन् । अब हाम्ले पो के गर्नु ? पुराना भत्काइयो नयाँ नबन्नीभए । गाँउमा के भन्नु ? बुढिलाई के भन्नु ? यो मिलीजुली सरकार भनेको पनि यी नेता भनाउँदाहरु मिलीजुली गरेर सर्रर कारमा हिँड्नु त रैछ नि ! हिँड्दा हिड्ँदै सँगमरमरबाट बनेकि जस्ती एक युवतीसँग ठोकिन पुगेछु । ह्वाट ननसेन्स ! भन्दै उनि हिडिन् । उनले गाली गरीन् या तारीफ गरीन मैले बुझ्नै सकिन बुझ्नु पनि के रह्यो र यो शहर बुझ्नै नसकिने रहेछ ।
म गाउँ फर्केँ । सबैलाई दोश्रो पटक पनि निराशामा डुबाएँ । आजकाल एकान्तमा बसेर मेरो गाउँको वरीपरी हेर्छु वरीपरि तुवाँलो लागेको देख्छु । गुलाफको फुलबाट पनि बारुदको गन्ध आएको झैँ लाग्छ । मैले गोली हान्दा पानी पानी गर्ने ती मानिसहरुको झैँ छ हाम्रो अवस्था पनि पानी लिन ३ कोश, सडक भेट्न १० कोश र बिजुली, अस्पताल कोशौँ कोश । मृगतृष्णा यो नभए के हो त ? तातो हावा आउँदै गरेको हिमाल तिर फर्केर हेरेँ उसको सेतो कपडा रातो भैसकेको रहेछ । शायद यहि होला नयाँ नेपाल ! यत्तिकैमा एउटा सेतो परेवा छातिमा गोली लिएर रक्ताम्मे हुदै मेरो अगाडि झर्यो र फत्र्याक फत्र्याक गर्दै मर्यो । के यहि हो त आमूल परिवर्तन ? मेरो प्रश्नको जवाफ दिने त्यहाँ कोहि थिएन ।
अनाश्थित म ।
यसपछि हाम्रो देशमा यौटा नयाँ तन्त्र आयो लोकतन्त्र गरे ! चुनाव पनि आयो, अब संविधान बनाउने अरे ! नेता उत्पादन गर्ने चुनाव र चुनावबाट जितेर गएका नेता ले बनाएका त्यस्ता जाबा तन्त्रहरु गाँउको विकास नगर्ने संविधान प्रति मलाई कुनै आश्था रहेन । म तिनमा सहभागी पनि भइन न मेरो गाँउले नै उपस्थिति जनायो । हामी आफ्नो कर्ममा विश्वास राख्छौ अरुप्रति विश्वास राख्दा हामीले धोका धेरै खाइसक्यौँ ।
लगभग दुई वर्ष पछि…………………….।
लोकतन्त्रले फेरी मेरो घर भत्कायो, राजनैतिक शब्द मेरो बुझाइमा, मेरो इतिहास र उपसँहार ।
आजकाल म मेरै गाँउको गाई चरनको बिचमा रहेको पीपलको बोटमा पाल टाँगी बस्छु । दिनभरी काम गरी मीठो सपनामा हराँउछु । आज फेरी आएर मेरो बास – त्यो रुख पनि ढाल्न थाले त । सोध्दा उनीहरुले भने – यहाँ आज दलहरु सँविधान बनाउन सहमति जुटाउन भनी आमसभा गर्न यहाँ आउँदै छन् । मान्छे नअटाउलान् भनी यो रुख काट्न लागेको । मैले प्रतिकार गर्दा गर्दै मेरो बास उठाइछाडे । रुख ढालिछाडे ।
हेर्दा हेर्दै पूरै चौर भरीयो । म चौरको छेउमा उभिएँ मेरी परिवार र छोरो पनि त्यहि रुँदै थिए । ३ बजे कार्यक्रम उद्घाटन हुने बेला पनि भयो । मेरा स्तब्ध आँखाले देख्छन् कोहिले बत्ति बाल्दैछन्, कोहिले तालि बजाउँदै छन् । मेरो घरमा साँझको भुटनको लागि तेल छैन यहाँ यिनीहरु तेलको सत्यानाश गर्दैछन् । नजिकैको गाँउको मन्दिरमा १० बर्षदेखि भजन र ताली बजेको छैन यहाँ यिनीहरु ताली बजाउँदै छन् ।
यो भएन अब हुन्छ, त्यो कारण बाधक छ, हामी यो गर्न चाहन्छौँ तेल्ले त्यो गर्न भन्छ त कसरी यो र त्यो को समझदारी हुन सक्छ । ती ती कुराहरु पुरा नभए र ती ती मान्छेहरु सत्ताबाट नगए यस्तो यो बन्न सक्दैन, यस्तो यो बन्न नसके स्थायी शान्ति आउन सक्दैन र संविधान पनि बन्दैन । कापीमा लेखिने संविधान बन्न पनि के के चाहिने हो । अब हाम्रो देशमा पनि कर्मचारी झैँ शान्तिको पनि स्थायी र अस्थायी नियूक्ति हुन पनि थाल्यो । अचम्मको देशको म अचम्मैको जनता हुँ । ती अचम्मका नेता कुरा गर्दा गर्दै झगडै पो गर्न थाले त ! मलाई पनि त्यहाँ गएर केहि भन्न मन लाग्यो । स्वागत मन्तव्य भन्छु भनी स्वयंसेवकसँग भने उनले पनि स्वागतै त गर्छ नि ! भनेर मलाई अनुमति पनि दिए । म मञ्चमा गई उभिए, चारैतिर हेरें । मञ्चमा रामे र भलाद्मी मुसुमुसु हाँसेर कुरा गर्दै थिए । मैले रामेको हातबाट माइक लिएँ र आफ्ना मनका गाँठाहरु फुकाउन थाले……………………………।
म एक आम नेपाली हुँ । मेरो व्यथा यो देशका बहुसँख्यक निरक्षर र गरीब, बेघर नेपालीको कथा हो । २००७ साल भन्दा पहिला मेरा हजुरबुवाको पेटमा जाने धान र २०१५ सालसम्ष्म हजुरबुवाको वाचन गर्न पाउने अधिकार राणा र तानाशाहले खोसे । संविधान र निर्वाचन भन्ने शब्द सुनेका मेरा हजुरबुवाले धान र वाचन मात्र बुझी त्यसैका प्राप्तिका लागि मरे । २०४६ सालसम्म पनि हाम्रो अवस्था त्यस्तै रह्यो झन् संविधान, निर्वाचन अनि बहुदलीय पनि थपियो त्यही धान, वाचन र दलीयको अर्थ दालै होला भनी राम्रो र मिठो अनि पेटभरी खान पाउने वातावरण छोरा नातीको लागि मिलाउँला भन्ने सोँचि हाँसी हाँसी आन्दोलनमा शहादत भए मेरा हजुरबुवा । २०६२ साल यता मेरा पिताले समानुपतिक सुने समानुपातिकको अर्थ नेताहरुले भ्रष्टाचार गरी अर्जेको अकुत सम्पत्ति समान रुपले वितरण होला भन्ने ठानी त्यसैको आशमा देशको झण्डा उँचा पार्दै मरे । आज मेरो २ बर्षे छोरो छ, उसको लागि म मर्न पनि सक्छु तर के उसको पेटमा जाने धान, मुखमा स्वतन्त्रता, खाने काम सजिलो बनाइदिने र जीवनमा उमँग ल्याइदिने दाल, र नेताले घोटाला गरेको सम्पत्ति उसलाई समानुपातिक रुपले वितरण गरेर दिन सक्नुहुन्छ ? निर्जवाफ नेताहरु एक–आपसमा हेर्दै मुसुमुसु हाँसिरहेका थिए भने चौरका जनताहरु आफ्ना आँखामा पानी ल्याएर मेरो मनको प्यास शान्त पार्न खोज्दै थिए तर ती सब मेरा लागि निरर्थक थिए सिर्फ निरर्थक ! निरर्थक ! निरर्थक…………………………………।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: