लिम्बु जातिका नायक र क्रान्तिकारी कवि डबल सुब्बा

खड्गबहादुर नेम्वाङ पल्लोकिरातको लिम्बुवानमा प्रसिद्ध थिए । उनी १९९० सालमा इलाम अमिनीमा बिचारी भए । उनी बारुद, बन्दुक र पिस्तोलका सोखिन थिए । साथै उनी सिकार खेल्नमा पनि पारङ्गत थिए । उनी प्रथम र द्वितीय विश्वयुद्धबाट फर्केका पूर्वसैनिकसँग बन्दुक किन्थे । यिनले तिनै हातहतियारहरू राणाशाही विरुद्ध लड्ने क्रान्तिकारी मुक्तिसेनालाई दिएर सहयोग गरे । क्रान्ति सम्पन्न भएपछि २००८ सालमा गृहमन्त्री बीपी कोइराला इलाम भ्रमण गएका थिए । त्यसै बखत कोइरालाले यिनलाई धन्यवादको पत्रसहित यिनका बन्दुकहरू फिर्ता गराइदिएका थिए । त्यसै साल क्रान्तिमा सहयोग गरेवापत यिनले इलाम अमिनीको सुब्बाको पदमा नियुक्ति पाए । किपटिया लालमोहरिया सुब्बा अमिनीको पनि सुब्बा भएपछि यिनलाई डबल सुब्बा भन्न थालियो । अनि यही सम्बोधनले यिनी प्रख्यात भए । त्यस बेलाको अमिनीको सुब्बापद पछि जिल्ला न्यायाधीशमा रुपान्तर भयो ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा पल्लोकिरात लिम्बुवानलाई पनि विशाल नेपालभित्र समाहित गरे । तर त्यसो गर्दा लिम्बुहरूलाई तिनको जिमिभूमिमा तिनकै स्वामीत्व रहने गरी आफ्नो कुलभाइ ठानी पृथ्वीनारायण शाहले “त्यो मुलुक सम्हार गरी जिमीभूमि रहिन्जेल तिम्रा शाखासन्तानतक भोग्य गर” भनी धर्मपत्रको तसल्लीको मोहरस्वरुप ताम्रपत्र गरिदिए । अनि लालमोहर अनुसार लिम्बुको जातिगत स्वामीत्व हुने जग्गालाई किपट भन्न थालियो । किपट जग्गामा राज्यको स्वामीत्व हुँदैनथ्यो । किपटप्रथाका कारणले नै पूर्वाञ्चलमा लिम्बुजातिको वस्ती पनि स्थिर हुन सकेको थियो ।

पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूबाट पनि लिम्बुको भूमिमाथिको स्वामित्व र अधिकार लालमोहरमार्फ कायम राखिदिने परम्परा बस्यो । जिमिभूमिमाथि स्वामित्व रहेका लिम्बु जातिको यो भूस्वामित्वसहितको जातीय अधिकारबाट किपट प्रणाली सुरु भयो । जसअर्न्तर्गत स्थानीय प्रशासनिक र न्यायीक अधिकारसहितको सुब्बाङ्गी प्रथा प्रारम्भ भयो । प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बाङ्गी प्रथामा अमाल गर्ने अधिकार सुब्बालाई वंशानुगत रूपमा प्राप्त हुँदै गयो ।

शाहवंशीय राजाहरूका लालमोहरबाट लिम्बुका जेठो सन्तान क्रमशः सुब्बा पदबाट सुशोभित हुन थाले । त्यसपछि अरुहरुले पनि लिम्बुहरुलाई सुब्बा भन्न थाले । लिम्बुजातिको नेम्वाङ कुलमा जन्मेका खड्गबहादुरका पुर्खा पनि जातिगत रूपमा सुब्बा भनिए । तर खड्गबहादुर नेम्वाङ भने अमाली र जिम्मावाल सुब्बासमेत भएका थिए ।

डबल सुब्बा लिम्बुजातिको जागरणका हर्कुलस थिए । उनी काम गरेर थाक्तैन थिए । उनको पहिलो काम नै लिम्बु जातिलाई उद्बोधन गर्ने हुन्थ्यो । सातसाल अगाडि सेतामगुराली (सेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) हरू शिक्षाको किरणबाट धेरै टाढा थिए । उनी लिम्बुजातिलाई कुरितीबाट मुक्त गर्न शिक्षा दिनु पर्छ भन्ने मान्यतामा लागे । त्यसैले आफ्नै गाउँमा २००६ सालमा प्राइमरी स्कूल स्थापित गर्न उनी सफल भए । उनैले आफ्ना बुबाआमाको नाउँ जोडेर ‘मनरत्न मिडिल स्कुल’ चलाए । त्यस स्कुलको स्थापना भएपछि त्यहाँ सेतामगुरालीले पनि क्षत्रीबाहुनहरूसँगसँगै पढ्न थाले । सो स्कुल पछि उच्चमाध्यमिक विद्यालयमा रुपान्तरित भयो ।

राणाशाहीका बेलामा किपट भूमिबाट लिम्बुहरुलाई पाखा लगाउने चालबाजी क्रमशः सुरु भयो ।अनि लिम्बुहरूले पनि अफ्नो परम्परागत अधिकारका लागि संघर्ष गरे । २००७ सालको जनक्रान्तिमा लिम्बुहरूको सहभागिता बढी हुनुमा यो नै एउटा मुख्य कारण पनि थियो ।

क्रान्तिताका पूर्वाञ्चल क्षेत्रमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बु थिए।क्रान्तिपछि अवसरवादीका भड्काउमा परेर केही सोझासाझा लिम्बुहरूबाट साम्प्रदायिक दङ्गा भड्किसकेको थियो।भड्काउमा परेका जनमुक्तिसेना र साधारण जनताबिच रक्तपातपूर्ण घटना घट्न नदिन क्रान्तिका अगुवाहरूले डबल सुब्बालाई अघि सारे । आफ्ना दाजुभाइ, कुलकुटुम्ब र गन्यमान्य लिम्बुहरूको सहयोगबाट उनले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेले। फलस्वरूप राजा त्रिभुवनको लालमोहरबाट किपटप्रथा यथावत कायम राख्ने घोषणा भयो ।

डबल सुब्बा शान्ति र सृजनाका साँघु थिए । उनी राम्रा कवि पनि थिए । उनले २०१२ सालमा मुनामदनको भाकामा लिम्बुभाषामा “किरात मिकहन साम्लो’ नामक खण्डकाव्य लेखे । लिम्बुभाषाको काव्यसाहित्यमा यो नै पहिलो आधुनिक काव्य मानियो । त्यतिमात्र होइन लिम्बु जागरणमा समर्पित स्रष्टाहरुका लागि डबल सुब्बा भीम थिए । त्यस मामलामा उनी बाधाको पहरा फोर्न पनि पोख्त थिए । उनी सामाजिक जागरणमा त्यतिकै क्रियाशील थिए । त्यसैले उनले लिम्बु चेलीउपर भएको कुरितिजन्य प्रथा उन्मुलन हेतु लिम्बुभाषामा कविता लेखे-

चेलीलाई बेच्नु ढोगौली पैसा धेरधेर थापेर

तीन वर्षम्म टीकामा ल्याउ नछोडी भनेर

ऋणदान बोक्नु घरबारी बेच्नु जुवाईंं पर्ठाई

छोरी र चेली बेचेर खानु घरबास उर्ठाई

हे बन्धु भन कसरी पुग्ला त्यसपछि खानलाई

घरबार उडे सकिन्न साँच्चै ऋणसम्म तिर्नुलाई ।

अनुवाद (बैरागी काइँला :२०३९)

डबल सुब्बाले लिम्बु संस्कृति र साहित्यलाई प्रकाश पार्ने हेतु झनै जाँगर चलाए । लिम्बुलगायत अन्य जातजातिबिच शिक्षाको प्रचार, कुरितीको उन्मूलन र सामाजिक चेतनाको उज्यालोमा जान उनैले बत्ती बालिदिए ।

डबल सुब्बा शिक्षा प्रचारमा दत्तचित्त भएर नै लागे । उनले आफ्नै गाउँ सारताप, पाँचथरमा खुलेको पाठशाला र इलाम तथा झापाका स्कूल भवन र पुस्तकालय भवन निर्माण गरिदिए । बाँचुन्जेल उनले समाजसेवामा आफूलाई समाहित गरिरहे । खास गरेर लिम्बु समुदायको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक, राजनैतिक र सांस्कृतिक जागरणका लागि यिनले योगदान दिइरहे ।

लिम्बुहरूलाई अन्याय पर्‍यो भने डबल सुब्बा आफ्नै छाती तेर्साएर अघि र्सर्थे । यस मामलामा हारे पनि यी चुप लागेर बस्तैन थिए । २०१७ सालमा राजा महेन्द्रको शाही कदमपछि लिम्बुको हकअधिकार र किपटप्रथा कटौती हुन थाल्यो । तर डबल सुब्बा एकनासले सत्ताको विरोधमा नै लागिरहे । २०२१ सालमा भूमिसुधारले लिम्बुहरूको सुब्बाको पद र किपट प्रथाको अन्त्य नै गरिदियो । त्यसपछि पनि लिम्बुहरूलाई अरुहरुद्वारा सुब्बा शब्दले सम्बोधन गरिने चलनचल्ती भने छुटेन । कतिपय लिम्बुले आफूलाई निरन्तर सुब्बा लेख्तै रहे ।

डबल सुब्बाको जन्म १९७१ साल फागुन २९ गते पाँचथरको पौवा गाउँमा भएको थियो । मनप्रसाद नेम्वाङ र उनकी चौथो नम्बरकी भनौ कान्छी पत्नी रत्नकुमारी फागूका यिनी साहिंला छोरा थिए ।

डबल सुब्बाले घरैमा कखरा पढे । उनी सानैदेखि लडाकु तर मिलनसार स्वभावका पनि थिए । उनी अत्याचार, अन्यायका घोर विरोधी थिए । साथै ज्ञानगुनका कुरामा पनि उनी अगाडि नै पर्थे ।

डबल सुब्बा रसिक पनि थिए । उनी नाचगान र लोकबाजा राम्ररी बजाउन सक्थे । उनी चार्डपर्वमा च्याब्रुङ र मुर्चुङ्गा बजाउँदै नाच्ने गर्थे । धान नाच्न जाँदा उनी कसै न कसैलाई मोहित पारी छाड्थे । यही रीतमा यिनले धेरै नारीसँग प्रिति पनि गाँसे । यिनले छ जनासँग विहे गरे । यिनका छओटी श्रीमतीबाट आठजना छोरा र छजना छोरी जन्मे । उनले आफ्ना छोराछोरीको भविष्यका लागि तन, मन र धन दिए । यसैक्रममा उनले सर्वप्रथम आफ्ना छोराहरुको शिक्षामा पनि जोड दिए । उनका छोराहरु पनि हुने विरुवाका चिल्लोपातका रूपमा निस्के । उनका छोराहरू भूविक्रम नेम्बाङ नेपाली काङ्ग्रेसका नेता भए र तिलविक्रम नेम्बाङ अर्थात् बैरागी काइँला नेपाली भाषासाहित्यका एउटा महारथी भए । तिनै महारथी नै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति पनि भए ।

डबल सुब्बाको २०३८ साल भदौ २ गते झापाको खुदुनाबारीमा स्वर्गारोहण भयो । त्यस दिन समाजसेवाको एउटा पाटोमा ओझेल परेको थियो भने लिम्बु जातिको आकाशमा बादल लागेको थियो ।

नरेन्द्रराज प्रसाई

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: