चाँदनी शाह दरबारमा फुलेकी थिइन्

धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको

आगो भई एकचोटि बली हेर अरूले तापेको ।

कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।

रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।

कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ । तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगत्ले ओजस्विता प्राप्त गर्नु हो ।

चाँदनी शाहको संवत् २००६ कात्तिक २२ गते सोमबार काठमाडौंको लाजिम्पाटमा जन्म भएको थियो । जनरल केन्द्रशमशेर जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणादम्पतीको सुयोग्य संरक्षणमा बीस वर्ष व्यतीत भएको थियो ।

चाँदनी शाहको विवाह तत्कालीन युवराजाधिराज वीरेन्द्रका साथ २०२६ सालमा भयो । वैवाहिक जीवनमा गुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको थियो । प्रणयमा उनिएपछि नै शाहद्वारा पत्रि्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए :

तिमीलाई हासेर बिदा मात्रै दिइसकेथें

आ“सु झरिसकेछन् म तिनलाई पुछ्न थालें

तिमी मलाई छाडी गैसकेका मात्रै के थियौ

तिमी र्फकने दिन म हतारिंदै गन्न लागें ।

चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ दार्जिलिङको सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल जाउलाखेलमा अध्ययन गर्दै कान्तिर् ईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्रवेश गरेकी थिइन् । उनले पद्मकन्या कलेजबाट आईए द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बीए द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी थिइन् ।

चाँदनी शाह सानैदेखि ‘हुने बिरुवाको चिल्लोपात’मा गनिन थालिन् । उनको साहित्य र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो । यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो । उनका मनपर्ने खेलहरू ब्याडमिन्टन, टेबुलटेनिस र रिले थिए ।

चाँदनी शाहमा अङ्ग्रेजी रोमान्टिक कवि विलियम वर्डर्स्वर्थका कविताको प्रभाव थियो । प्रकृतिचित्रणमा रमाउने कवि वर्डर्स्वर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए । साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सृजना भएको थियो ।

चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो । नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडापाखा, खोँच, बेँसी, खोलानाला, झर्ना, हिमाल र पहाडका श्रृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्त्व रहेका छन् ।

त्यसैले उनीबाट आफ्नै माटो, आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पटभूमिमा प्रस्तुत हुने गर्दर्थ्यो । जसमा शाहको प्रणयभावना पनि टयाप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो :

उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा

सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा

जहाँजहाँ जान्छौ तिमी म पाइला बनी पछयाइरहन्छु

ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।

गीतलेखनझैं चाँदनी शाहमा सङ्गीतकलाको पनि त्यत्तिकै सोख थियो । चाँदनी शाहले आफ्नो विद्यार्थीजीवनमा काठमाडौंको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

चाँदनी शाहका कवितामा सुन्दर, शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ । उनीबाट औपचारिक रूपमा संवत् २०३० सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो । शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ, प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्, मायाप्रीतिका भावहरू सलबलाएका छन्, नेपाल र नेपाली जातिप्रति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन् । चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सृजनामा गाउँका झुप्राझुप्राहरूको वास्तविक अवस्थाको अभिव्यक्त पाइन्छ । हिलोमा होस् या राजदरबारमा होस् जहाँ पनि कमल फुल्न सक्छ भन्ने बेहोराको सग्लो प्रमाण नै चाँदनी शाह थिइन् । ’cause उनी राजदरबारमा नै फुलेकी थिइन् ।

रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहबाट दीपेन्द्र, श्रुति र निराजनको जन्म भयो । उनीबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सृजना गरिए । यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवनदृष्टि पाइन्छ ।

जुनसुकै धारणामा आबद्ध समालोचक, साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको जनजीवन, भावना र चेतनाको ढुकढुकी जीवन्त रूपमा पाइन्छ भनी टिप्पणी गरेका छन् । यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन् । मोतीझैं सुन्दर शैलीले सुसज्जित उनका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ ।

कवयित्री शाहले काव्यसृजनामा मात्रै समय प्रदान गर्ने त्यतिसारो अवसर थिएन । रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनुपथ्र्यो । चाहे राजा वीरेन्द्रसँग देशविदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपतिक्षेत्र विकास कोषको अध्यक्षता गरेर होस् अनि चाहे नेपाल स्काउटको प्रमुख संरक्षक भएर होस्- चाँदनी शाहको राष्ट्रिय दायित्व विराट् थियो । तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ ।

प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहको २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । त्यस गोलीकाण्डले कवयित्रीको भौतिक चोला क्षतविक्षत भएको थियो । त्यस घटनापछि प्रायः सारा नेपाली रोए । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । उनका यस्ता रचनाहरू नेपाली परिवेशमा अनन्तअनन्तसम्म रहनेछन् :

उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो

माटोले बनेको देह त्यो फेरि गएर माटो भो

छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो

मायाले रचेको खेल यो आज आएर अन्त भो ।

नरेन्द्रराज प्रसाई

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: